काठमाडाैं- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।
बुधबार मध्यन्न महानगरीय प्रहरी परिसर टेकु पुगेर पौडेलले प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष श्रेष्ठ, चितवनका प्रहरी प्रमुख (एसपी) दानमहादुर मल्ल र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिएकी हुन्।
कानुन व्यवसायीसहित परिसर पुगेकी पौडेलले तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार, कारबही गर्न माग गरेकी छन्।
गत साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले आत्महत्या अगाडि छाडेको भिडयोमा रविले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन्।
जनआस्थामा गत साउन २९ गते ‘पत्रकारले मर्दामर्दै खोलेको पोल’ शीर्षकमा पुडासैनीको भिडियो/अडियोमा आधारित समाचार छापिएको थियो। पछि आफूले नै सो भिडियो नेपाल आजका सम्पादक कोइरालाई उपलब्ध गराएको श्रेष्ठले बताउँदै आएका छन्।
सञ्चारकर्मी पुडासैनीको आत्महत्या प्रकरणमा टिभी कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की साउन ३० गते पक्राउ परेका थिए।
अनुसन्धानका लागि भन्दै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन लगिएको थियो। सुरुमा अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद पाएको प्रहरीले हिजो (सोमबार) पुन: थप ५ दिन अनुसन्धानका लागि अदालतबाट अनुमति पाएको छ।
मुलुकी फौजदारी संहिताअन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ।
पुडासैनीले आत्महत्याअघि गरेको भिडियो रेकर्डमा लामिछानेसहित कँडेल र कार्कीको नाम लिएका थिए। आफूलाई आत्महत्या गर्ने अवस्थामा पर्याउन उनीहरु जिम्मेवार भएको उनको दाबी छ।
त्यही आधारमा प्रहरीले रविसहित तीन जनालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ। प्रहरीसँग रहेको शालिकरामको सो भिडियो जनआस्था र नेपाल आज अनलाइनमार्फत भएको थियो।
प्रतिक्रिया