पोखरा- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भरतपोखरी इकाई समितिद्वारा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा तल्लो गगनगौडा आमा समूहले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा आदर्श दिदी बहिनी समूह द्वितीय र तोरी चौर आमा समूहले तृतीय स्थान प्राप्त गरेका छन् ।
त्यस्तै अनुशासित आमा समूह र दिदी बहिनी आमा समूहले सान्त्वना स्थान प्राप्त गरे भने राधा कृष्ण दिदी बहिनी समूहले गरेको नृत्य उत्कृष्ट घोषित बन्यो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश ११ हजार १११ रुपैयाँ, ७ हजार ७७७ रुपैयाँ, ५ हजार ५५५ रुपैयाँ र एक हजार ५०० रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरियो ।
त्यस्तै उत्कृष्ट नृत्यलाई एक हजार १११ रुपैयाँ नगद सहित पुरस्कृत गरियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काँग्रेसका नेता देबराज चालिसेले देशको बर्तमान बेथिती, अन्यया, अत्याचार लगायतका विषय गीतका माध्यमबाट प्रस्तुत गरिएको बताए ।
नेपाली समाजमा तीजको आफ्नै मौलिकता रहेको बताउँदै उनले यस्ता संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले हाम्रा परम्परागत संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताउँदै अनावश्यक भड्कीलो बनाउने प्रबृतिको अन्त्य गर्नुपर्ने बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान भरतपोखरी इकाई अध्यक्ष शंकर थापाको अध्यक्षता एवम् सचिव रामप्रसाद ढकाल र श्रीधर आचार्यले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष चेतबहादुर महत, भोजराज आचार्य, सरस्वती टीका माविका प्रधानाध्यापक नन्दलाल काफ्ले लगायतले शुभकानम व्यक्त गरेका थिए ।
कार्यक्रममा कलाकारहरू मधु चापागाइँ, परशुराम अधिकारी लगायतले विभिन्न प्रस्तुती गरेका थिए ।
प्रतिक्रिया