गाेरखा- चुमनुब्री गाउँपालिकाका कर्मचारीले वडाहरुमा सञ्चालित विकासका कार्यक्रमबाट बिभिन्न बहाना बनाएर रकम असुल गरेका छन् ।
लेखा परीक्षण गर्ने, भ्याट बिल बनाउने लगायतका बहानामा कर्मचारीहरुले एकदेखि दुईप्रतिशतसम्म रकम असुल गरेको वडा अध्यक्षहरुले जानकारी दिएकाे खबर दराैंदी दैनिकले छापेकाे छ ।
आर्थिक बर्ष २०७५/०७६ मा सातवटा वडामा आठ करोड ५२ लाख ७८ हजार रुपैयाँ बिनियोजन भएको थियो । सोही रकमबाट बहानाबाजी गरी कर्मचारीले पैसा असुल गरेको उपभोक्ता समितिहरु बताउँछन् ।
‘भ्याट बिल बनाउन खर्च चाहिन्छ भन्दै सचिवले पैसा माग्नुभयो । हामीले सबै उपभोक्ता समितिसंग उठाएर दियौं’, वडा नं. ६ का अध्यक्ष लोप्साङ लामाले भने, ‘अरु वडाका सबैले दिइसक्नुभयो भनेपछि हामीले पनि एकलाख आठ हजार रुपैयाँ दिएको हो ।’ असार मसान्तमा बिल भरपाई फस्र्यौट गर्ने मौका मिलाएर कर्मचारीले सो रकम असुल गरेको उनले बताए ।
वडा नं. ७ छेकम्पारले पनि एकलाख ८० हजार रुपैयाँ दिएको जनाएको छ । लेखा परीक्षक (अडिटर) लाई दिनुपर्छ भनेर सचिवहरुले मागेपछि सो रकम दिएको वडा कार्यालयले जनाएको छ ।
वडा नं. ४ प्रोकका उपभोक्ताहरुले पनि माग गरेजति रकम सचिवहरु लाई दिइसकेको जनाएका छन् । तर एकमुष्ट कति गयो भन्ने बारे आफूलाई जानकारी नभएको एक उपभोक्ता समितिका अध्यक्षले जानकारी दिए ।
वडा नं. १ मा पनि दुई प्रतिशत दिनुपर्छ भनेर सचिवले भनेका तर आफूले नदिएको वडा अध्यक्ष वीरबहादुर लामा बताउँछन् । ‘अडिट गर्ने खर्च उपभोक्ता समितिसंग उठाएर हामीलाई दिनू भनेर वडा सचिवले भनेका थिए’, वडा अध्यक्ष लामा भन्छन्, ‘तर मैले संकलन गर्न पनि भ्याएको छैन, बुझाएको पनि छैन ।’
गत आर्थिक बर्ष चुमनुब्री गाउँपालिकाको वडा नं. १ मा एक करोड पाँचलाख ८८ हजार ७५ रुपैंया बिनियोजन भएको थियो ।
त्यस्तै वडनं. २ मा एक करोड २२ लाख ७५ हजार, वडा नं. ३ मा एक करोड ७९ लाख १७ हजार चारसय ४० रुपैयाँ, वडा नं. ४ मा एक करोड ६ लाख ८५ हजार रुपैयाँ, वडा नं. ५ मा एक करोड ११ लाख ८० हजार रुपैयाँ, वडा नं. ६ मा एक करोड तीनलाख ८२ हजार रुपैयाँ र वडा नं. ७ मा एक करोड २२ लाख ५० हजार रुपैयाँको योजना बिनियोजन गरिएको गाउँपालिकाका सहलेखापाल मुकेश प्रजापतिले जानकारी दिए ।
यस बिषयमा गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले आफूलाई जानकारी नभएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले पनि कर्मचारीले रकम असुल गरेको अस्वीकार गर्दै यसबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् ।
प्रतिक्रिया