काठमाडौं- जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि सुरक्षा व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ ।
आइतबार राति बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरेको छ ।
बैठकले प्रदर्शन निषेध गरिएको स्थानमा पाँच जना भन्दा बढी सँगै हिड्न नपाउने व्यवस्था गरिएको छ ।
टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुद्दा दायर भएसँगै उत्रिएको प्रदर्शनपछि यस्तो निर्णय भएको हो ।
चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जना विरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको छ ।
लामिछानेलाई मुद्दा दर्ता गरिँदा उनका हजारौँ समर्थकले प्रहरी कार्यालय र भरतपुरको चौबीसकोठीमा नाराबाजी गरेका थिए। तीमध्ये महिलाहरूको सङ्ख्या उल्लेख्य थियो।
मुद्दा दर्ता भइसकेपछि अब चितवन जिल्ला अदालतले अभियुक्तहरूको थुनछेक बयान लिनेछ। बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय हुनेछ।
आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।
प्रतिक्रिया