+
Search

ताजा अपडेट +

पपुलर +

भ्रमण वर्ष सफल बनाउन सरकार र निजी क्षेत्रको साझेदारिता आवश्यकः मन्त्री भट्टराई

4KNationalDaily
२०७६ भाद्र १०, मंगलवार २१:११ बजे

काठमाडौं- सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफल बनाउन पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अध्यक्ष रहेको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको चौथो बैठकले चार महिनापछि शुरु हुने भ्रमण वर्षलाई सफल बनाई २० लाख पर्यटक भित्र्याउने योजना सफल बनाउने अभियानअन्तर्गतका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमलाई गतिशील बनाउने निर्णय गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार र सेवा सुदृढीकरण, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र सञ्चालनका लागि गर्नुपर्ने भौतिक तथा प्राविधिक काम प्रभावकारी बनाइ आन्तरिकतर्फका विमानस्थलको स्तरोन्नतिसँगै सरोकारवाला निकायको समन्वयमा आकर्षक प्याकेजका कार्यक्रम बनाइने समितिले जनाएको छ ।

मन्त्री भट्टराईले भ्रमण वर्ष अभियानलाई राष्ट्रिय प्राथमिकताको अभियानको रुपमा अघि बढाउन सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाइने बताए ।

भ्रमण वर्ष अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउन सातवटै प्रदेशलाई जिम्मेवारीका साथ सक्रिय बनाइने उल्लेख गर्दै उनले भ्रमण वर्ष प्रदेशस्तरको विद्यमान समितिलाई पुनःगठन गरिने बताए ।

भ्रमण वर्षको प्रदेशस्तरीय समितिमा पर्यटनमन्त्रीको संयोजकत्वमा समिति गठन गरिनेछ र एक साताभित्र समिति गठन गरी भ्रमण वर्ष सचिवालयलाई उपलब्ध गराउनुपर्नेछ ।

यस्तै भ्रमण वर्षलाई लक्ष्य गरी जिल्लास्तरमा पनि पर्यटकीय चहलपहल बढाउन जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा सरोकार भएका सङ्घसंस्था समेटिने गरी समिति गठन गरिनेछ ।

गाउँपालिका र नगरपालिकामा पनि सम्बन्धित निकायका प्रमुखहरुको संयोजकत्वमा समिति गठन गरी प्रवद्र्धनका कामलाई तीव्रता दिइने बैठकले निर्णय गरेको छ ।

बैठकले भ्रमण वर्षलाई सफल बनाउन मूल आयोजक समितिमा आवद्ध निकाय तथा संस्थाका सदस्यले १० दिन भित्र आ–आफ्नो कार्ययोजना भ्रमण वर्ष सचिवालयलाई पेश गर्न आग्रह गरेको छ ।

मूल आयोजक समितिमा पर्यटन क्षेत्र, सरकारी निकाय, गैरआवासीय नेपाली सङ्घलगायत ४० भन्दा बढी संस्थाको प्रतिनिधित्व छ ।

एक महिनाको गृहकार्यपछि आगामी असोज १ गते सम्बन्धित संस्था र भ्रमण वर्ष सचिवालयबीच कार्य सम्झौता हुने बताइएको छ । प्रधानमन्त्रीको उपस्थितिमा बृहत् सम्झौता समारोह आयोजना गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily