काठमाडौं- सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ।
केहीको बोलचाल बन्द छ। केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटगत स्वार्थ लगायतका कारण विवाद चुलिएको हो। जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध पुगेको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन्।
मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख र उपप्रमुखको विवाद अदालतमा पुग्दा नगरपालिका ठप्प छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिम र उपाध्यक्ष उर्मिला राईबीचको द्वन्द्व सतहमा देखिएको छ।
इलाम नगरपालिका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्बाङबीच २ वर्षदेखिको विवाद सामसुम भए पनि कार्यसम्पादन राम्ररी हुन सकेको छैन।
न्यायिक समितिको संयोजक भएर कुर्सीमा बसेको दुई वर्षसम्म आफू नै मेयरबाट अन्यायमा परेको भन्दै उपमेयर नेम्बाङले गुनासो पोखिन्।
गत असार २८ गते भएको नगरसभामा उर्लाबारीका मेयर खड्ग फागोले एकलौटी गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षधरले मुद्दा हालेपछि विवाद चुलियो।
अदालतले नगरसभाको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दियो। यसपछि नगर तथा वडा कार्यालयका सबै आर्थिक काम रोकिएका छन्।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष माखिम र उपाध्यक्ष राईबीच ६ महिनाअघिको गाउँपालिकाको बैठकमा तीव्र विवाद भयो।
रौतहटको ईशनाथ नगरपालिकाकी उपमेयर हुसने आरा खातुनले मेयर सन्तोष मेहताले आफूलाई बाइपास गरेको गुनासो गरेकी छन्।
नगरपालिकाको योजनाका विषयमा कुनै पनि जानकारी नहुने उपमेयरको भनाइ छ।
राजदेवी नगरपालिकामा औषधि खरिदमा अनियमितता भएको भन्दै उपमेयर अंशु सिंहले स्टोर कोठामै ताला लगाइदिइन्। नगरसभा उद्घाटन कार्यक्रममा मेयर–उपमेयरबीच विवाद भयो।
मेयर धीरेन्द्र सिंह एकलौटी चल्न खोजेको सिंहको आरोप छ।
गुजरा नगरपालिकाका उपमेयर रौशना खातुनले मेयर सन्तलाल चौधरीले एकलौटी ढंगले नगरपालिकाको कामकाज गरेको भन्दै पत्रकार सम्मेलनै गरिन्।
कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह र उपमेर नुरजहा खातुनबीच मनमुटाव भएको महिनौँ बित्यो। मेयर कुशवाहले खातुन कार्यवाहक मेयर भएका बेला आर्थिक अनियमितता गरेको आरोप लगाउँदै आएका छन्। राम्रो काम गरेकाले राजनीतिक रूपमा बदनाम गराउन खोजेको खातुनको गुनासो छ।
दुई महिनाअघि यमुनामाई गाउँपालिकाका उपाध्यक्ष गीतादेवी साहमाथि अध्यक्ष श्रीप्रसाद मुखियाले दुव्र्यवहार गरेको भन्दै जिल्लाभरका स्थानीय तहका उपमेयर आन्दोलित भए।
चन्द्रपुरमा मेयर रामचन्द्र चौधरीले महँगो गाडी चढेपछि उपमेयर रामरती चौधरीले पनि त्यस्तै गाडी माग गरेकी थिइन्।देबाही नगरपालिकामा मेयर धर्मेन्द्र पटेल र उपमेयर परनियादेवीबीच योजना छनोटका विषयमा विवाद छ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठ र उपाध्यक्ष दुर्गादेवी नेपालबीच बोलचाल छैन। उनीहरू एउटै सवारीसाधन प्रयोग गर्दैनन्। उपाध्यक्ष नेपालले अध्यक्षले आफूलाई हेप्ने, कुनै कुरा सुनुवाइ नगर्ने गरेको गुनासो गरिन्।
प्रतिक्रिया