गोरखा- गाेरखा नगरपालिकाको नारेश्वरस्थित वडा नम्बर ३ मा रहेको शम्भु थापाको भुकम्प वाटआशिंक क्षति भएको घरमा पहिलो पटक प्रवलीकरणको सुरुवात भएको छ ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले प्राविधिकको सहजिकरणमा औपचारिक रुपमा गोरखा नगरपालिकामा प्रवलीकरण प्रर्दशनी घरमा काम थालनी गरेको हो ।
निजी आवास प्रवलीकरण सम्बन्धी प्रशिक्षकहरुलाई प्रशिक्षण कार्यक्रममा प्रवलीकरण घरको औपचारिक उद्घाटन गर्दै गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले प्रवलीकरणको औपचारिक सुरुवातले अन्य आशिंक क्षति पुगेका घरमा समेत प्रेरणा मिल्ने बताए ।
उनले भारत सरकारको सहयोगमा गोरखा नगरपालिकामा प्रवलीकरणको सुरुवात भएकाले अन्य वडामा समेत नमुना घर निर्माण गर्न आग्रह गरे । भने ‘नगरपालिकाका सबै वडामा विज्ञको सुझावका आधारमा आंशिक क्षति पुगेका घरलाई जस्ताको तेस्तै बनाउन सकिन्छ ।’
मेयर पन्तले प्रवलीकरणका लागि परियोजनाको सहयोगमा दिर्घकालिन रुपमा जनशक्ति तयार भएमा सहज हुने बताए ।
प्रवलीकरणका विषयमा समुदायमा जनचेतना फैलाएर आंशिक क्षति पुगेका घरधनीलाई मानसिक रुपमा तयार गर्न आवश्यक रहेको भन्दै उनले प्रवलीकरण गरिने घरको अवलोकन समेत गरे ।
यस्तै, सम्उन्नत टोल सुधार समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठले पुराना घरलाई विस्थापित गर्नुभन्दा जोगाउनु महत्वपुर्ण हुने भएकाले प्रवलीकरणको महत्वपुर्ण भुमिका रहेको बताए ।
उनले परियोजनाको सहजिकरणले प्रवलीकरणले गति लिनेमा आफु आशावादी रहेको बताए ।
प्रवलीकरण विज्ञ राजेन्द्र देशाईले आमनागरिकलाई प्रवलीकरणका बारेमा कम जानकारी भएकाले समेत प्रवलीकरण गरिएको नमुना घरले जनचेतना अभिवृद्धिमा सहयोग गर्ने बताए ।
भूकम्प प्रभावित शम्भु थापाको ६० बर्ष अगाडीको घर प्रवलीकरण गरिएपश्चात थप ६० बर्ष सम्म थप मजबुद् हुने देशाईको भनाई थियो ।
परियोजनाका जिल्ला संयोजक राम सापकोटाले प्रवलीकरण गरिने घरमा प्रवलीकरणका क्रममा प्राविधिकको प्रशिक्षण समेत हुने भएकाले आगामी दिनमा प्रवलीकरण गरिने घरका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने उल्लेख गरे।
उनले प्रवलीकरणका लागि आगामी दिनमा समेत नगरपालिकाको सहयोग हुनेमा विश्वास व्यक्त गरे ।
घरधनी थापाको तीन तल्लाको घरमा ८ जना डकर्मीले १५ दिनमा प्रवलीकरण सक्ने लक्ष्य सहित काम गरिरहेको परियोजनाका इन्जिनियर दिवस दाहालले बताए ।
प्रवलीकरण गरिरहेका घरधनी थापाको ढुंगामाटोको घर २०१३ सालमा बनेको र २०७२ सालको भुकम्पले आंशिक क्षति भएको थियो ।
प्रतिक्रिया