काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीद्वारा संयुक्त रुपमा आयोजित ‘विचारधारात्मक अन्तरक्रिया’ कार्यक्रम सुरु भएको छ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको याक एन्ड यती होटलमा कार्यक्रमको उद्घाटन गरेका हुन्। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी बीचमा यस स्तर र स्वरुपको कार्यक्रम पहिलो पटक भइरहेको हो।
दुई दिनसम्म चल्ने सो कार्यक्रममा चिनियाँ पक्षले सि चिनफिङ विचारधारामा केन्द्रित रहेर विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्नेछन्। कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट तीन र नेकपाका तर्फबाट दुई कार्यपत्र प्रस्तुत हुनेछन्।
कार्यक्रममा भाग लिन चिनियाँ टोलीहरु नेपाल नेपाल आइसकेका छन्। सोमबार दिउँसो मात्रै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडौं अवतरण गरेका थिए।
नेकपाका नेताहरुले पनि बोल्ने कार्यक्रम छ। केही बेरअघि सुरु कार्यक्रममा नेकपाका सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले शुभारम्भ मन्तव्य राखेका थिए।
चिनियाँ राष्ट्रपति सि चिनफिङको केही हप्तापछि हुने भनिएको भ्रमण अघि भएको यस किसिमको कार्यक्रमलाई निकै चासोसाथ हेरिएको छ।
पछिल्लो समय सि चिनफिङ शक्तिशाली बन्दै गएका छन्। परिणामस्वरुप पार्टी विधानमै ‘सी चिनफिङ विचारधारा’ समावेश गरिएको छ।
प्रतिक्रिया