काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
दुई नेताबीचको भेट ‘वान टू वान’ भएको बताइएको छ। सो भेटवार्तापछि सीले प्रचण्डसहितको उपस्थितिमा नेकपा पार्टी सचिवालयका सदस्यहरुसँग सामूहिक भेट गरेका थिए।
सत्तारुढ नेकपाको सचिवालय सदस्यसँगको सामूहिक भेटपछि प्रचण्डले राष्ट्रपति सीसँग एक्लै भेट गरेका हुन ।
सी बसेको सोल्टी होटेलमा नेकपाका सचिवालयका ७ जनासँग केही समय सामूहिक भेटपछि सीलाई प्रचण्डले एक्लै भेट गरेको उनी निकट एक सचिवालय सदस्यले जानकारी दिए।
‘प्रचण्ड र राष्ट्रपति सी बीच भेट भयो, उहाँहरुबीच आपसी समझदारीका विषयमा छलफल भएको छ’, ती सदस्यले भने। दुईदिने राजकीय भेटका क्रममा राष्ट्रपति सी शनिबार काठमाडौं आएका हुन्। राष्ट्रपति सीसँग प्रचण्डको यो चौथो भेट हो।
सन् २०१३ मा राष्ट्रपति भएलगत्तै सीले तत्कालीन एकीकृत माओवादीका अध्यक्ष रहेका प्रचण्डलाई एक्लै बेइजिङ निम्त्याएर भेटवार्ता गरेका थिए।
त्यसपछि सीसँग प्रचण्डको भेट दोस्रो पटक प्रधानमन्त्री भएपछि बेइजिङमा र ब्रिक्स–बिमस्टेक आउटरिचमा सहभागी हुने क्रममा भारतको गोवामा भएको थियो।
प्रतिक्रिया