+
Search

ताजा अपडेट +

पपुलर +

ट्रेकिङ व्यवसायी टुल्कु बनेपछि युवतीमाथि यौन शोषणको श्रृंखला, यसरी खुल्यो लामाको पोल

4KNationalDaily
२०७६ आश्विन ३०, बिहीबार ०७:५९ बजे

काठमाडौं- धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ।

निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

उच्च अदालतको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी मनीषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो।

ट्रेकिङ व्यवसायी टुल्कु बनेपछि…

ट्रेकिङ व्यवसायी ज्ञानबहादुर लामा एकाएक नाम परिवर्तन गरेर रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा बनेका थिए।

आफूमा भगवान्को अवतारको बास भएको भनी उनले सुरुमा काठमाडौंको गैरीधारामा झारफुक लगायतका काम गरे ।

भक्तले दिएको चन्दा र भेटी संकलन गरी दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा स्थापना गरे । उनले त्यहीँबाट आफ्नो नियमित कर्म जारी राखे ।

छालासम्बन्धी रोग लागेकी फर्पिङ प्रथम (परिवर्तित नाम) लाई आमाबाबुले झारफुक गराएर निको बनाउन २०६६ जेठमा लामाकहाँ पुर्‍याए ।

प्रारम्भिक उपचारपछि लामाले उनलाई एक्लै बनाए । कपडा लगाएर उपचार गरे निको नहुने भनी निर्वस्त्र बनाएर झारफुक गरे ।

फर्पिङ प्रथमले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार त्यसको करिब २० दिनपछि लामाले उपचार गर्ने कोठामा निर्वस्त्र गराई जबर्जस्ती करणी गरे।

आफूलाई धर्मगुरु बताउने टुल्कु लामाले ‘अरू कसैलाई भने क्षति हुन्छ, रोग बल्झन्छ’ भनी उनलाई डर देखाउँथे । उपचारका लागि गुरुसँग यौनसम्पर्क राख्नुपर्छ भनी आश्वस्त पार्थे । उनले आफू गुरु भएको र गुरु ३३ कोटी देवताको अवतार भएको भन्दै आफ्नो वाणी पुग्ने विश्वास दिलाएका थिए ।

लामा रिसाए अनिष्ट हुने डर र त्रासमा आफूले सो कुरा अरूलाई नभनेको भनी पीडितले जाहेरीमा भनेकी थिइन् ।

ती लामाले फर्पिङ प्रथमलाई गुम्बामा बस्दा बाहिर निस्कन, परिवारसँग सम्पर्क गर्न र अरू पुरुषसँग कुराकानी गर्न दिँदैनथे ।

फर्पिङ प्रथमले लामो समयको शारीरिक तथा मानसिक यातना सहन नसकी २०७३ सालमा आमासँग कुराकानी गरिन् र गुम्बा छाडी घर फर्किइन्।

पीडितले प्रहरी र त्यसपछि अदालतमा दिएको बयानअनुसार उनी घर फर्केपछि टुल्कु लामाले परिवारका सदस्य, नातेदारलगायतलाई बारम्बार फोन गरी उनका बारेमा जथाभावी बोल्ने गर्थे ।

बिहेको कुरो चल्न थालेपछि पहिले नै खिचिएका केही आपत्तिजनक अवस्थाका फोटो फेसबुकमा पोस्ट गर्न थाले ।

अति नै हुन थालेपछि फर्पिङ प्रथमले ‘धर्म र उपचारका नाममा आफ्नो वशमा पारी शारीरिक र मानसिक शोषण गर्ने ढोंगी धर्मगुरु दोर्जे योन्तान योञ्जन टुल्कु लामालाई आवश्यक कारबाही गरिपाऊँ’ भनी २०७४ मंसिर ५ गते प्रहरीमा किटानी जाहेरी दिइन् ।

उजुरी पर्नासाथ प्रहरीले गुम्बामा छापा मार्‍यो अनि एउटा कम्प्युटर, केही थान फोन र क्यामेरा र विभिन्न बट्टामा राखिएका धूलो पदार्थ बरामद गर्‍यो । खानतलासीका क्रममा विभिन्न युवतीका नाममा बनेको फाइल तथा नागरिकता पनि भेटियो ।

आफूलाई लामा भनी चिनाउने दोर्जे योन्तान योञ्जन टुल्कु पक्राउ परेपछि विभिन्न ठाउँबाट पीडितहरू प्रहरीको सम्पर्कमा आए ।

अर्की पीडित फर्पिङ द्वितीय (परिवर्तित नाम) ले दिएको बयानमा भनेकी छन्, ‘राम्रा केटीहरू उपचारका लागि आएपछि लामाले तिमी मेरो अघिल्लो जन्मकी श्रीमती हौ, तिमीलाई देवी बनाइराख्छु भनी विभिन्न धार्मिक कुरा गरी केटीलाई ललाईफकाई आफूसँग राख्ने र उनीहरूसँग यौनसम्पर्क गर्नेसमेत गरेको भन्ने कुरा थाहा पाएकी हुँ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily