काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजान जाँदैछन्।
परराष्ट्र मन्त्रालयका अनुसार ओली अजरबैजानको बाकुमा आयोजना हुन लागेको असंलग्न आन्दोलनको १८औं शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
असंलग्न आन्दोलनमा संलग्न देशका राज्यप्रमुख र सरकार प्रमुख सहभागी हुने सम्मेलन कात्तिक ८ देखि ९ गतेसम्म बाकुमा हुँदैछ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, परराष्ट्र सविच शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहनेछन्।
सम्मेलनलाई प्रधानमन्त्री ओलीले कात्तिक ९ गते सम्बोधन गर्नेछन्।
त्यस्तै प्रधामन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिभले सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने औपचारिक रात्रिभोजमा समेत सहभागी हुनेछन्।
सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखसँग द्विपक्षीय भेटघाटसमेत गर्नेछन्।
असंलग्न आन्दोलनको नेपाल संस्थापक राष्ट्र हो र नेपालको विदेश नीतिको एउटा महत्वपूर्ण आधार असंलग्नता नीति हो।
प्रधानमन्त्री ओली बाकुबाट कात्तिक ९ मा प्रस्थान गर्ने र १० गते काठमाडौं आइपुग्नेछन्।
प्रतिक्रिया