पोखरा- आगामी मंसीर १४ गते हुन गईरहेको उपनिर्वाचनमा कास्की २ को उम्मेदवारको लागि नेपाली कांग्रेसबाट विमला भण्डारीको चर्चा चलेको छ ।
तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्युपश्चात रिक्त पदको लागि हुन गईरहेको उपनिर्वाचनमा नेकपाबाट स्वर्गीय अधिकारीकी पत्नी विद्या भट्टराईको चर्चा चलिरहदा कांग्रेसबाट भण्डारीको चर्चा चलेकाे हाे ।
अहिले कास्कीका दलहरु उपनिर्वाचनको तयारीमा जुटेका छन । यस निर्वाचनमा नेकपा र कांग्रेसको मुख्य प्रतिस्पर्धा छ ।
नेकपाले विद्याको नाम सिफारिस गरिरहदा कांग्रेसले भण्डारीको नाम सिफारिस गरेको हो । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०५३ देखी राजनितिक यात्रा सुरु गरेकी भण्डारी हालै पनि कांग्रेसका विभिन्न भातृ संगठनहरुको नेतृत्व गरिरहेकी छन ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा २०५८ देखि नेविसंघको राजनितिमा कृयाशिल रहेकी उनले २०६२ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको नेतृत्व गर्दै होमिएकी थिइन । नेविसंघको प्यानलमा सर्वाधिक मत प्राप्त गरेकी भण्डारी अहिले कास्की कांग्रेसमा सकृय छन ।
पोखरा १७ निवासी भण्डारी वडादेखी जिल्लाको राजनितिमा लामो समयदेखी सकृय भएकाले पार्टीले उच्च मूल्याङ्गन गर्दै उम्मेदवारको लागि सिफारिस गरेको हो ।
विगत १९ बर्षदेखी पत्रकारिता क्षेत्रमा कृयाशिल भण्डारी नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य छन । यसैगरी नेपाल पत्रकार महासंघ शाखा कास्कीको उपाध्यक्ष रहेकी भण्डारी महिला पत्रकारहरुको संगठन संचारिका समूहको केन्द्रिय सदस्य पनि हुन ।
रेडियो जननीको स्टेशन म्यानेजर रहेकी उनी महिला पत्रकारको नेतृत्व गर्दै आएकी छन । पर्यटन पत्रकार संघको गण्डकी प्रदेश संयोजक समेत रहेकी भण्डारी नेपाल प्रेस युनियनको केन्द्रिय महिला विभाग सदस्यसमेत हुन ।
पत्रकारिता र राजनितिक क्षेत्रमा संगसंगै कृयाशिल रहदै कास्कीका करिव दुई दर्जन संघ संस्थाहरुको नेतृत्व पनि समाल्दै आएकी छन ।
राजनितिमै किन ?
सामाजिक अभियन्ताको रुपमा कास्कीमा छुट्टै पहिचान बनाएको नाम हो विमला भण्डारी । भण्डारी राजनैतिक क्षेत्रमा नै किन भन्ने प्रश्न यतिवेला कास्कीमा नचलेको पनि होइन । उनी भन्छिन, ‘स्ववियु निर्वाचनमा होमिदै गर्दा मेरो मत सर्वाधिक आएको थियो ।
कांग्रेस पार्टीको विभिन्न भातृ संगठनमा पनि रहेर काम गरे । परिवर्तनका लागि राजनितिक नै मुल धार आवश्यक छ ।
राजनितिक क्षेत्रमा आएका विकृति र विसंगतीलाई चिर्दै कांग्रेसको गरिमालाई उच्च बनाउन जरुरी छ । राजनितिक विना समाज परिवर्तनको विकल्पै छैन । यसैले उपनिर्वाचनमा होमिने सोच गरे ।’
सामाजिकसंगै राजनितिक नेतृत्वमा पनि महिला सहभागीता न्युन भएकाले निर्वाचनमा होमिने सोच उनको छ ।
‘सभ्य भनेकै समाजको समृद्धि हो’ उनी दोहो¥याउछिन, ‘समाज परिवर्तनको लागि राजनितिक एउटा माध्यम मात्र हो । यही माध्यमबाटै समृद्धि ल्याउन दलीय उम्मेद्वारी दिनुपरेको हो ।’
नेपाल कम्युनिष्ट पार्टीले महिला उम्मेदवारी दिने चर्चा चलिरहदा कांग्रेसले पनि महिला उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । चुलो चौकोमा मात्र सिमित रहने महिला अव राजनितिक नेतृत्व र सत्तामा पुग्न जरुरी रहेको कांग्रेस अगुवा बताउछन ।
उनी राजनितिक रुपमा जिल्ला पार्टीमा मात्र नभई केन्द्रसम्मै आफ्नो पहुँच बनाउन सफल नेतृ हुन ।
विगत लामो समयदेखी समाजसेवा र महिला अधिकारको क्षेत्रमा कृयाशिल भण्डारीले सुसंस्कृति राजनितिक र समतामुलक समृद्धिको राजनितिक यात्रालाई अगाडी बढाउनको लागि पछिल्लो पुस्ता जागरुक हुनुपर्ने बताइन ।
लामो समयदेखी महिला अधिकारको क्षेत्रमा प्रशिक्षकको भुमिकासमेत निभाउदै आएकी भण्डारी महिलालाई आफ्नो अधिकारमा सशक्त बनाउनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकी छन ।
उनकै नेतृत्वमा कास्कीका १८ वटा वडामा एकैपटक २००२ मा महिला न्यायीक मंच गठन गर्दै महिलालाई जागरुक बनाउन जुटेकी भण्डारी निरन्तर मानव अधिकारको क्षेत्रमा पनि उत्तिकै कृयाशिल छन ।
‘कानुनी अधिकार स्थापना र महिलाको सवालमा मेरो अभियान जारी रहन्छ’ भण्डारी भन्छिन । कास्की कांग्रेसले भण्डारीसहित १६ जनाको नाम सिफारिस गरेको छ भने नेकपाले पनि विद्यासहित ३ जनाको नाम केन्द्रिय समितिमा सिफारिस गरेको छ ।
प्रतिक्रिया