+
Search

ताजा अपडेट +

पपुलर +

सडक ट्रर्‍याकले मनास्लु पदमार्ग जोखिमपूर्ण

4KNationalDaily
२०७६ कार्तिक १६, शनिबार ०८:१३ बजे

गोरखा- बर्सेनि पाँच हजारभन्दा बढी विदेशी पर्यटक पुग्ने उत्तरी गोरखाको मनास्लु पदमार्गमा सडक ट्र्याकका कारण जोखिम बढेको छ।

सेनाले खोल्दै गरेको हावाडाँडा–लार्के सडकखण्डको अधिकांश ठाउँमा पदमार्ग पर्ने भएकाले हिँड्ने बाटो पुरिने, ठूला ढुंगा अड्किएर बस्ने, हिँड्न अप्ठ्यारो हुने भएपछि पर्यटक त्रसित छन्।

सडक खोल्दा चिरिएको भीर र पदमार्ग पुरिएर बनेको बूढीगण्डकीमाथिको भीरमा पर्यटक डराईडराई यात्रा गर्छन्।

यो मुख्य सिजन भएकाले दैनिक ३० देखि ५० जना विदेशी मनास्लु जाने गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ। गत वर्षभन्दा पर्यटकको संख्या बढ्नुपर्ने अनुपातमा बढेको छैन।

‘यहाँ धेरै जोखिम बढेको छ भन्छन्, विस्फोट गराएर ठूला पहरामा सडक खुलाइँदैछ, ठाउँठाउँमा पदमार्ग पुरिएको छ,’ एमक्याप सिर्दिबासका कर्मचारी छाङदोर्जे लामाले भने, ‘पर्यटक पठाउने कम्पनी, गाइड र पर्यटक पनि जोखिम कम भएको ठाउँमा मात्र जान रुचाउँछन्।’

पदमार्गका होटल व्यवसायीहरू सडक ट्र्याक खुलेको भन्दा नखुल्दा उत्तरी गोरखाका लागि धेरै फाइदा हुने दाबी गरेकाे खबर अाजकाे नागरिक दैनिकमा नरहरी सापकाेटाले खबर लेखेका छन् ।

सडक नखुल्ने र पदमार्ग व्यवस्थित बनाउन सक्ने हो भने पदमार्गमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने र त्यसले व्यापार, व्यवसाय, भरियादेखि स्थानीय उत्पादनले बजार पाउने होटल व्यवसायी ङवाङ फुन्जो लामा बताउँछन्।

‘बाटो आएपछि यहाँ टुरिस्ट कम आउँछन्, पहिले आरुघाटबाट हिँड्थे, अहिले सोतीसम्म गाडी आउँछ, गाडी माथि आउँदै जाँदा पर्यटकको यात्रा छोटिन्छ,’ चुमनुब्री गाउँपालिका–६ ताँजुस्थित झाम्बाला होटलका सञ्चालक लामाले भने।

होटल व्यवसायीदेखि स्थानीयले दैनिक उपभोग्य सामग्री खच्चडबाट ल्याउने–लाने गर्छन्। खच्चड हिँड्ने र पदमार्ग एउटै हुँदा दुर्गन्ध हुने, अधिकांश ठाउँमा खच्चड हिँडेका बेला पर्यटक रोकिनुपर्ने अवस्था छ।

खच्चड हिँड्ने बाटो फरक गर्नुपर्ने पर्यटकका गाइडहरूको सुझाव छ। ‘पदमार्गलाई सुरक्षित र व्यवस्थित गर्नुपर्ने ठाउँमा सडक खोलेर जोखिम बढेको छ,’ गाइड मुकेशकुमार कार्कीले भने, ‘यसले यहाँका स्थानीयलाई घाटा हुन्छ, पर्यटकको रोजाइमा यहाँको ठाउँ घट्न थाल्छन्।’

मनास्लुमा मात्रै नभएर अन्यत्र पनि सडक खुलेका कारण पदमार्गमा जोखिम बढेको उनले बताए। ‘सुरक्षित यात्रा गर्न खोज्छन्, यहाँका बारेमा सोधखोज गरेर बुझेर मात्रै पर्यटकले जाने निधो गर्छन्,’ उनले भने, ‘रमाइलो, कम जोखिम, बिदा समयअनुसार धेरै दिन घुम्न सक्ने, धुवाँधुलो नभएको ठाउँ पर्यटकको रोजाइमा पर्छ।’

अहिले खोलिएको ट्र्याक अधिकांश ठाउँमा विस्फोट गराएर पहरो फुटाइएको छ। ती पहरो चिरिएका छन्, सुरक्षित यात्राका लागि भने ध्यान नदिएको गुनासो गाइडहरूको छ।

नियमित काम भएका बेला अझै समस्या हुने, पर्यटक रोकिनुपर्दा समयअनुसार यात्रा गर्न गाह्रो हुने गुनासो पर्यटकहरू गर्छन्। सडकको माटो झरेर पदमार्ग धेरै ठाउँमा पुरिएको छ। भीर हेर्दै जोखिमले पर्यटक हिँड्नुपर्छ।

मनास्लु क्षेत्रमा पर्यटकले तीन सातासम्म बिताउँछन्। उनीहरू आरुघाट हुँदै सोती, माछाखोला, सिर्दिबास भएर छेकम्पारको चुम उपत्यका जाने गर्छन्। चु

मबाट फर्किएर सामागाउँ हुँदै नुब्री उपत्यका भएर अधिकांश पर्यटक लार्केपास गरेर मनाङ हुँदै फर्कन्छन् भने कतिपय सामागाउँबाट फर्कन्छन्।

यसरी यात्रा गर्दा पर्यटकले बिताउने समय, भरिया र गाइडले गर्ने खर्चले स्थानीयको आम्दानी बढेको छ।

‘पदमार्ग रहेन भने मनास्लुको अस्तित्व रहँदैन,’ चुमनुब्री गाउँपालिकाका उपप्रमुख कुमारी गुरुङले भनिन् ‘तिब्बतसँग सिमाना जोड्नेगरी सडक निर्माण भइरहेको छ, यसले केही कुरामा सजिलो होला तर पदमार्ग मासियो भने यहाँका जनताको रोजगारी गुम्नेछ।’

पदमार्ग सुधार र प्रचारप्रसारमा एमक्याप, गाउँपालिका र विभिन्न संघसंस्थाले काम गरिरहेको उनले बताइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily