काठमाडौं- प्रमुख विपक्षी नेपाली कांग्रेसले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।
यसले सरकार र विपक्षीबीच द्वन्द्व बढाउने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मात्र सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेकी थिइन् ।
कांग्रेस प्रवक्ता शर्माले भने सरकार जरुरी काम छाडेर केही कार्यकर्तालाई जागिर खुवाउनेतिर लागेको टिप्पणी गरे ।
शर्माले भने, ‘आजको दिनमा सरकारले गर्नुपर्ने थुप्रै कामहरु छन्, तर त्यसलाई छाडेर आफ्नो निकटस्थहरुलाई जागिर खुवाउनेतिर लागेर आफ्नो असफताको खाडल खल्नेतिर लाग्यो ।’
‘केपी ओली नेतृत्वको सरकारलाई जनताको काम गर्न प्रतिपक्षी दलले सहयोग गरिरहेको अवस्थामा पूर्वाग्रही रुपमा प्रदेश प्रमुखलाई बर्खास्त गरेको छ,’ प्रवक्ता शर्माले भने ।
२०७४ माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरुको नियुक्त गरेको थियो ।
३ कारण
१. अहिले सरकारको प्राथमिकता प्रदेशका प्रमुखहरुको बर्खास्तगी गर्ने कुरा हो? वा, आफूले जनतासमक्ष गरेको बाचा बमोजिमका विषयवस्तुमा गम्भीरतापूर्वक अगाडि जाने हो? प्राथमिकताको हिसाबले मिलेन।
२. प्रतिपक्षसँग संवाद र सहकार्य गरेर अगाडि जानुपर्नेमा अघिल्लो सरकारबाट भएका निर्णयलाई यसरी पूर्वाग्रहपूर्ण ढंगले कदम चाल्नु भनेको प्रतिपक्षसँग द्वन्द्वलाई आमन्त्रण गर्ने विषय हो।
३. अहिले मुलुकमा उपनिर्वाचनको तयारी भइरहेको बेलामा सरकारले ट्याक्कै प्रदेश प्रमुख हटाउन नपाउने कहीँ लेखिएको नहोला रे, तर सभ्य लोकतान्त्रिक समाजमा नैतिक प्रश्न हुँदैन? नैतिक रुपमा सरकारले गर्न मिल्ने विषय होइन।
नयाँ प्रदेश प्रमुख आजै नियुक्त गर्ने तयारी
राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ ।
उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समावेश गरिएको छ ।
प्रतिक्रिया