+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीकै खुलासा : एसपी र आलमको सल्लाहमा घाइतेलाई इँटा भट्टामा हालिएको थियो

4KNationalDaily
२०७६ कार्तिक १८, सोमबार ०७:१३ बजे

काठमाडौं – रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्न लागेको हो।

अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ। प्रहरीले तत्कालिन प्रहरी अधिकारीहरुसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ।

विस्फोटलाई लुकाउन त्यतिबेला सिंगो राज्य नै लागेको थियो। तर, अहिले भने त्यतिबेला चुप भएका प्रहरी अधिकारी पनि मुखर भएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर तथा रौतहटमा कार्यरत तत्कालिन सइ ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोटका घाइते भएकाहरुलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो।’

अधिकारकर्मीहरुको तत्कालिन प्रतिवेदनले पनि घाइतेहरुलाई ट्रयाक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ।

तत्कालिन प्रहरी महानिरीक्षक ओमविक्रम राणाले बोली फेर्दै अहिले ‘घटनाको जानकारी थियो, अनुसन्धान गर्न भनेको थिएँ,’ भनेर कागज गरिदिएका छन्।

इलाका प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज इन्द्र सुवेदीले अनुसन्धानकर्तालाई भने, ‘धमाकासहित विस्फोट भयो, घटनास्थल जान मोबाइल टोलीसहित गेटबाट निस्केको थिएँ, एसपी साबले तुरुन्त जिल्ला बोलाउनुभयो।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily