काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ सिट ल्याउने दाबी गरेका छन्।
चितवनको आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको इच्छाकामना गाउँपालिकामा आइतबार नेकपाले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘आउने निर्वाचनमा हामी एक्लैले दुई तिहाइ सिट ल्याउने सुनिश्चिता गर्नेछौं।’
एकीकरण प्रक्रिया ढिलो हुँदा कार्यकर्तामा वैचारिक, सांगठनिक, जनपरिचालनमा समस्या उत्पन्न भएको स्वीकार्दै उनले भने, ,‘स्थानीय सरकारलाई परिचालन र सहयोग गर्न व्यवधान भएको रिपोर्ट सबैतिरबाट केन्द्रमा आएको छ।’
पार्टीभित्र देखिएका समस्या केन्द्रीय समितिको बैठकले निराकरण गर्ने अध्यक्ष दाहालले दाबी गरे।
उनले भने, ‘केन्द्रीय समितिको बैठकपछि पार्टी भित्रको वर्तमान स्थितिलाई गुणात्मक रुपमा परिवर्तन ल्याउनेछौं। स्थानीय र प्रदेश सरकारका लागि पार्टीको तर्फबाट निर्देशिका ल्याउने छौ।’
पार्टी एकता कार्य मूलभूत रुपमा टुंगाएको जानकारी गराएका उनले केन्द्रीय समितिको बैठकपछि केन्द्रीय अभियान लिएर देशभर जाने बताए।
संगठनमा छुटेका नाम पनि आएकाले उनीहरुको गुनासो सम्वोधन गर्न विधान संसोधन गर्न लागिएको जानकारी गराए।
उपनिर्वाचनले पार्टीलाई उत्साह र शिक्षा दिएको प्रचण्डले बताए।
‘पार्टी एकीकरण प्रक्रिया ढिलो हुनु, संस्थागत तरिकाले पार्टी परिचालित नहुँदा कल्पना नगरेका ठाउँ पनि हारियो, ’ उनले भने, ‘पार्टी र जनताको सम्बन्ध जति सजिव र गतिशील हुनुपर्ने हो, त्यसको कमिले हार भएको निष्कर्ष निकालेका छौं।’
भारतले नेपाली भूमि अतिक्रमण गरेको सन्दर्भमा बोल्दै प्रचण्डले कुटनीतिक र राजनैतिक तबरले समस्या अन्त्य गर्नका लागि अवसर आएको बताए। इच्छाकामना गाउँपालिकामा चेपाङ जातिको बढी बसोबास छ।
प्रतिक्रिया