+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय भवन संहिता परिमार्जन : अब नेपालको आफ्नै मौलिक भवन संहिता

4KNationalDaily
२०७६ पुष १८, शुक्रबार १३:१० बजे

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सक्रियतामा राष्ट्रिय भवन संहिता – १०५ (NBC-105) परिमार्जन भएको छ ।

सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बुधबार बसेको बैठकले परिमार्जित संहिता पारित गरेको हो ।

२०७२ बैशाखमा गएका भूकम्प र परकम्पहरुका कारण निजी तथा सार्वजनिक भवनहरुमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो ।

प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन)ले यस सम्बन्धमा काम गरेको हो ।

संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलक भवन संहिता निर्माण भएको छ । यसअघि राष्ट्रिय भवन संहिता लगायतका भवन संहितामा आधारित थियो ।

अब परिमार्जित सहिंताअनुसार डिजाइन निर्देशिकाहरु बन्नेछन् जसमा आधारित भएर मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्नेछ ।

केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले नेपालको भूकम्पीय जोखिम, यहाँको भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता परिमार्जन गरिएको जानकारी दिए ।

‘यो पूर्णतः नेपालमा रहेको भूकम्पीय जोखिमको विश्लेषण गरेर तयार गरिएको भवन सहिंता हो । हामीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा बलियो संरचना पुनर्निर्माण मात्र गरेका छैनौं, त्यसको संहिता पनि परिमार्जन गरेका छौं ।’

केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) ले २०७४ मंसिरबाट परिमार्जन कार्य सुरु गरेको हो ।

त्यसक्रममा भवन निर्माणसम्बन्धी सबै सरोकारवाला संघसंस्था एवं निकाय, विश्वविद्यालय तथा कलेजहरु, खानी तथा भूगर्भ विभागलगायतसँग बृहत अन्तरक्रिया तथा कार्यशालाहरु गरिएको आयोजना निर्देशक प्याकुरेलले जानकारी दिए ।

संहिता परिमार्जनका क्रममा ‘भूकम्पीय जोखिम नक्सा (Seismic Hazard Map) पनि निर्माण गरिएको छ । संहिताले साना भवनदेखि ठूलासम्म र सार्वजनिकदेखि निजी भवनसम्मलाई समेट्नेछ ।

संहिता परिमार्जनका लागि सहरी विकास मन्त्रालयको भवन आवास महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन भएको थियो ।

त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्यकारिणी समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily