काठमाडौं- उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले नेकपाको निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार पार्टीका दुवै अध्यक्ष, महासचिवसहित नेताहरूकै उपस्थितिमा उनले पार्टी निर्णय नमान्ने चुनौती दिएकी खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।
दुवै अध्यक्षले शुक्रबार बालुवाटार बोलाएर राजीनामा दिन गरेको आग्रह अस्वीकार गरेपछि उनलाई आइतबार दोस्रो पटक बालुवाटार बोलाएर छलफल गरेका थिए।
नेकपाको सचिवालय बैठकले शनिबार तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। तर उनले पार्टी निर्णय आफूलाई थाहा नभएको, आफूले राजीनामा नदिने र संसद् बैठक चलाएर प्रक्रिया अगाडि बढाउने बताएपछि आइतबार उनलाई बालुवाटार निम्ताइएको थियो।
बालुवाटार पुग्नुअघि तुम्बाहाङफे आइतबार बिहानै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर संसद् बैठक सञ्चालनका लागि गृहकार्य थालेकी थिइन्। १७ पुसदेखि स्थगित संसद् बैठक आइतबारका लागि डाकिएको थियो।
तुम्बाहाङफेको अडानपछि प्रधानमन्त्री ओलीसँग छलफल गर्न अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए। दुई नेताबीच संसद् बैठक, उपसभामुखको राजीनामा र सभामुख चयनबारे छलफल गरिरहँदा उनी सिंहदरबारमा सचिवालयका कर्मचारीसँग संसद् चलाउने तयारीमा जुटेकी थिइन्।
उनले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न खोजिन्। तर सचिवालयका कर्मचारीले उनलाई यसअघि जे कारणले संसद् बैठक स्थगित भइरहेको छ, त्यसको गाँठो नफुकेकाले संसद् कसरी सञ्चालन गर्ने भन्दै समितिको बैठक राख्न आनाकानी गरेका थिए।
संसद् सचिवालय र नेकपा संसदीय दलका नेताले पनि उपसभामुख तुम्बाहाङफेलाई संसद् बैठक अगाडि नबढाउन आग्रह गरेका थिए। अटेरी गर्दै संसद् चलाउने प्रयासमा लागेपछि उनलाई बालुवाटार बोलाइएको थियो।
त्यसबीच ओली–दाहालले तुम्बाहाङफेसँग छलफल गर्ने भन्दै महासचिव पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पनि बालुवाटार बोलाइएको थियो। उनी त्यहाँ पुग्दा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल छलफलमा थिए।
सुरुमै पार्टीको शनिबारको निर्णयप्रति तुम्बाहाङफेले जिज्ञासा राखेकी थिइन्। पार्टी नेताहरूले उनलाई उपसभामुखबाट राजीनामा दिन आग्रह गरे। तर उनले मानिनन्।
‘शनिबारको पार्टी निर्णय उपसभामुखलाई जानकारी गराइयो, संसद्को सभामुख पार्टीले छाड्न नसक्ने भन्दै संवेदनशीलता बुझ्न आग्रह गरियो,’ छलफलमा सहभागी एक नेताले भने, ‘तर उहाँले मान्नुभएन।’
प्रतिक्रिया