काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो संगठन विभागलाई थप चुस्त र दुरुस्त बनाउन विशेष कार्ययोजना तयार पारेको छ ।
आइतवार बसेको सचिवालय बैठकले संगठन विभागले तयार पारेको विशेष कार्ययोजना पारित गरेको हो ।
नेकपाले जारी गरेको ११ बुँदे आचारसंहितामा पार्टी सदस्यहरूले आफ्ना छोराछोरीलाई कसरी सम्बोधन गर्नेदेखि मुलुकको हितका लागि के-के गर्ने भनेर उल्लेख गरिएको छ।
संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचार संहिता केन्द्रीय सचिवालयले पास गरेपछि आइतबारदेखि मुलुकभर सर्कुलर गरिएको छ।
संहिताको १ नम्बर बुँदामा पार्टी सदस्यहरूले आफ्नो कमाइबाट राज्यलाई कर तिर्न, जीवन निर्वाह गर्न र पार्टीलाई नियमित लेबी बुझाउन पनि भनिएको छ।
संहिताको बुँदा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख गरिएको छ। जसमा कसैलाई तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने उल्लेख छ।
परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ,’ आचारसंहितामा उल्लेख छ।
समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरूद्ध सधैं खडा हुन पनि संहितामा सदस्यहरूलाई भनिएको छ।
प्रतिक्रिया