+
Search

ताजा अपडेट +

पपुलर +

देउवाले प्रधानमन्त्रीलाई सोधे : कहाँबाट आउँदैछ धक्का, हामीले पनि थाहा पाउनपर्‍यो

4KNationalDaily
२०७६ माघ १४, मंगलवार १७:३७ बजे

काठमाडौँ- काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले धक्काको कुरा गरेको भन्दै त्यसबारे जानकारी मागेका छन् ।

‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नुभएको छ, धक्का भनेको के धक्का हो यो ? कहाँबाट आउने धक्का हो, यो यहीँ सोध्न मिलिहाल्यो’, मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देउवाले भने, ‘ठूलो धक्का आउँदैछ रे नेपालमा, कहाँबाट आउँदैछ यो हामीले पनि थाहा पाउनुपरयो ।’

उनले अगाडि भने, ‘नेपालमा कसले धक्का दिन सक्छ, हामी पनि हेरौँ, त्यसकारण धक्का कसले दिएको छ प्रधानमन्त्री बोल्नु भएको छैन ।’

यसअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागिएको तर सुरुवातमै केही धक्का देखिएको बताएका थिए ।

उनले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्नु गर्दा खुसी लागेपनि व्यवहारमा त्यस्तो हुन नसकेको बताए ।

देउवाले प्रेस स्वतन्त्रतामा बन्देज लगाउने गरी विधेयक ल्याएको भन्दै त्यसलाई खारेज नगरिए प्रधानमन्त्रीले भनेजस्तो प्रजातन्त्र र लोकतन्त्र हुन नसक्ने तर्क गरे ।

यस्तै उनले सरकारले ल्याएका विभिन्न विधेयकहरु लोकतन्त्र प्रतिकूलका रहेका भन्दै त्यसबारे पनि पुनर्विचार गरिनुपर्नेमा जोड दिए ।

यस्तै हालै सभामुखमा निर्वाचित अग्नि सापकोटालाई बधाइ दिँदै उनले सभामुखको रुपमा सापकोटालाई प्रतिपक्षीको पूर्ण साथ र सहयोग रहने बताए । प्रतिपक्षलाई पनि विस्वासमा लिएर अघि बढ्न समेत देउवाले सुझाव दिए ।

उनले सभामुख पद निष्पक्ष हुने भएकाले काँग्रेसले उम्मेदवार नउठाएको भन्दै नवनिर्वाचित सभामुखबाट पनि सोहीअनुसारको व्यवहार हुने विश्वास व्यक्त गरे ।

यस्तै शान्तिप्रक्रियाका बाँकी सबै काम पूरा गर्नुपर्ने पक्षमा पार्टी रहेको भन्दै देउवाले यसमा आवश्यक सबै सहयोग गर्न तयार रहेको पनि बताए ।

देउवाले संसदलाई सम्बोधन गर्दै कोरोना भाइरस नियन्त्रण गर्न माग गर्नुका साथै उखु किसानको बक्यौता भुक्तानीमा पनि जोड दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily