गाेरखा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेताहरुले अहिले नै धेरै टेन्सन नलिन अाग्रह गरेका छन् । शुक्रबार (२७ पुष) बाट सुरु भएको दोस्रो आरुघाट (महोत्सव) को उद्घाटन कार्यक्रममा बाेल्दै प्रचण्डले यस्ताे बताएका हुन् ।
उनले सरकारकाे कामकार्वाहीमा कमजाेरी भए सच्चाउन तयार रेहकाे बताए । ‘कमजोरी छ भने सच्याउन तयार छौँ’ उनले थपे, ‘सरकारमा रहेर हामीले राम्रो काम गर्न सक्यौँ भने अर्काे चुनावपछि पनि हामी नै आउँला। हामीले राम्रो गरेनौँ भने अर्काे आउने भनेको कांग्रेस नै हो। त्यसैले, नेपाली कांग्रेसका नेताहरुले अहिले नै धेरै टेन्सन नलिए हुन्छ।’
नेपाली कांग्रेसका नेता विमेलेन्द्र निधि बाेलेसकेपछि बाेलेका प्रचण्डले निधिले गरेको गरेको व्यङ्गको जवाफ दिए। ‘ओलीजीले पार्टी एकताका सन्दर्भमा टेम्पो र जेटको प्रसङ्ग ल्याउनु भएको थियो। एकतापछि टेम्पो जस्तो एउटा ड्राइभर होइन, जेटमा जस्तो दुईटा पाइलट चाहिन्छ भन्नुभएको हो।’
प्रचण्डले ‘दुईटा पाइलट (ओली–प्रचण्ड) बीच (विवाद बढोस् भन्ने चाहनाका साथ निधिले त्यसो भनेको भए उनको त्यो चाहना पुरा नहुने बताए। उनले भने, ‘राम्रै नियतले भन्नु भएको हो भने चाहिँ धन्यवाद छ।’

सक्रिय राजनीतिमा अाउनु अगि प्रचण्ड आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा कृषि विज्ञानका शिक्षक थिए। आरुघाट छाडेर चितवन फर्केको केही समयपछि नै उनी राजनीतिमा सक्रिय रुपमा लागे। र, भूमिगतपनि भए। त्यसैले आरुघाटमा हुने महत्वपूर्ण कार्यक्रममा प्रचण्ड निम्त्याइन्छन्।
‘आरुघाट भनेपछि मलाई माइत हिँड्न लागेको चेलीलाई जस्तो हुन्छ,अरुबाट निम्तो आयो भनेपनि सकभर आरुघाट नै आउन खोज्छु’ उनले भावुक हुदै भने, ‘मेरो उर्जाशील उमेर यहीँ बितेको हो, यहाँबाट छाडेर गएपछि म राजनीतिमा सक्रिय भएको हुँ।’
‘म यहाँ शिक्षक हुँदा उतातिर सल्यानटारमा विभिन्न कार्यक्रम हुन्थ्यो, ती कार्यक्रममा म रातभरि नाचेको थिएँ’ उनले सम्झे, ‘म यहाँका मेलापातमा, चाडपर्वहरुमा सहभागी हुन्थेँ।’ उनले निर्माणधीन बुढीगण्डकी आयोजनाबाट विस्थापितहरुलाई छिट्टै मुआब्जा बाँड्न आफूले पहल गर्ने विश्वास पनि दिलाए।
एकजना जहाजको पाइलट र अर्को रेलको ड्राइभरमात्र हुनु हुँदो रहेछ : निधि
नेपाली कांग्रेसका नेता निधिले सम्बाेधन गर्ने क्रममा सरकारको गतिहिनताप्रति टिप्पणी गर्दै ने, ‘ओलीले आफू र प्रचण्डजीलाई जेटको पाइलट भन्नुभएको थियो। होइन रहेछ। एकजना जहाजको पाइलट र अर्को रेलको ड्राइभरमात्र हुनु हुँदो रहेछ।’
महोत्सव माघ ५ गतेसम्म चल्ने
कला सस्ंकृति इतिहास र पर्यटन आरुघाट क्षेत्रको पहिचान, संरक्षण र प्रबद्र्धन भन्ने नाराका साथ उद्योग वाणिज्य संघ आरुघाट इकाई र आरुघाट युवा क्लबको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । माघ ५ गतेसम्म चल्ने महोत्सवमा लोक तथा दोहोरी गायक बद्रि पंगेनी, पशुपति शर्मा, रामजी खाँड, प्रकाश सपुत, प्रीती आले, कुलेन्द्र विश्वकर्मा, शान्तीश्री परियार, आधुनिक गायक प्रमोद खरेल, हास्य कलाकार मनोज गजुरेल, जितु नेपाल,सन्ध्या बुढा (काउली बुढी), भद्रगोल टेलि सिरीयलका कलाकार जिक्री, पाँडे लगायतको प्रस्तुती रहनेछ ।
महोत्सवमा ब्यापारीक तथा ब्यवसायिक एक सय वटा स्टल रहने आयोजकले जनाएको छ । बुढिगण्डकी जलविद्युत आयोजना ले नामेट हुन लागेको आरुघाट बजारको कला सस्ंकृतिको उजागर गरी स्थानीय स्तरमा पर्यटन तथा ब्यापार ब्यबसाय प्रबद्र्धनका लागि महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ आरुघाटका अध्यक्ष विश्वकुमार श्रेष्ठले बताए । महोत्सव माघ पाँच गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
भिडियाे
प्रतिक्रिया