पोखरा- गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पोखराको नयाँ बजारस्थित राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयको निरिक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री चुमानले रासस गण्डकी प्रदेश कार्यालयबाट भैरहेको सेवा प्रवाह लगायतमा जानकारी लिए ।
प्रदेशको समाचार सम्प्रेषणमा सरकारी सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आगामी दिनमा अझै समन्वय र सहकार्यका साथ सरकार अघि बढ्ने विश्वास व्यक्त गरे ।
सञ्चार क्षेत्रको विकासका लागि सञ्चारग्राम निर्माण गर्ने योजनाका साथ सरकार अघि बढेको उनले बताए ।
मन्त्री चुमानलाई रासस गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख वासुदेव पौडेलले गण्डकी प्रदेशको राजधानी पोखरा सहित प्रदेश अन्तर्गत विभिन्न जिल्लामा रासस मार्फत भैरहेको समाचार सम्प्रेषण लगायतका विषयमा जानकारी दिए ।
प्रदेश सरकारका हरेक गतिविधिलाई समाचारका माध्यमबाट सम्प्रेषण गर्न रासस प्रतिवद्ध भएको बताउँदै उनले आगामी दिनमा अझै प्रदेश सरकारसँग थप समन्वय गर्दै अघि बढ्ने बताए ।
मन्त्री चुमानलाई पोखरामा राससको कार्यालय भवन २०३५ सालमा बनेको र हाल जिर्ण अवस्थामा रहेका कारण पुननिर्माण गरिनु पर्ने जानकारी गराइयो ।
प्रतिक्रिया