काठमाडौं- काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा सोमबार डिल्लीबजार कारागारबाट छुट्ने भएका छन् ।
शुभचिन्तकहरुले उनको स्वागतको तयारी गरेका छन् । कारागार बाहिर फूलमाला र अबिरले स्वागत गर्न ठूलो संख्यामा समर्थक र शुभचिन्तकहरु बसेका छन् ।
संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई सोमबार अदालतले सफाइ दिएको थियो ।
फैसला सुन्न महरा पनि काठमाडौं जिल्ला अदालत आएका थिए । सफाइ पाएलगत्तै उनी डिल्लीबजार कारागार पुगेका छन् ।
महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासले सफाइ दिएको हो ।
महराले सफाइ पाएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरू खादा लिएर डिल्लीबजार कारागार पुगेका छन् ।
प्रतिक्रिया