काठमाडौं- सरकारले विद्यालयमा पढाउन एक हजार पाँच सय जना शिक्षक खोजेको छ । ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो ।
शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि शुक्रबार आवेदन खोलेको हो ।
स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले https://www.doe.gov.np/ मा जागिरका लागि निवेदन दिन सक्छन् ।
अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँछन् । यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि चाहिँदैन ।
स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत माघ २९ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि पनि तयार गरिसकेको छ ।
सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ ।
स्नातकोत्तर पढेकाको तलब केही धेरै छ । उनीहरूको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार हुने स्वंयसेवक परिचालन कार्यविधि २०७६ मा उल्लेख छ ।
शिक्षण स्वयंसेवक खटाउन सकिने स्थानीय तहहरुको नामावली हर्ने यहाँ क्लिक गर्नुहोस्ः
प्रतिक्रिया