काठमाडौं- सरकारले कोरोना भाईरसको संक्रमणबाट जोखिम न्युनीकरणका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरि आवश्यक व्यवस्था मिलाउने काम भएको स्पष्ट पारेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रमणबाट जोगिन सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन् ।
उनले छिमेकी मुलुकमा पनि संक्रमण देखिएकाले हिजोको सर्तकताले मात्रै नपुग्ने भएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरि विभिन्न स्थानमा चेकजाँचको व्यवस्था मिलाउने काम भइरहेको बताए ।
कोरोना भाईरस प्रवेश गर्न नदिने, सावधानी अपनाउने, मध्यम खालको स्थितमा कसरी जोगिने र अति जोखिममा पुग्दाको सम्भावित अवस्थाबारे आँकलन भएको र सोहीअनुसार आवश्यक तयारी गरिएको उनले स्पष्ट पारे ।
विभिन्न अस्पतालमा १ सय ५५ वटा आईसोलेटेड बेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबारदेखि नै प्लेनमा चढ्नुभन्दा अगाडि चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था आरम्भ गरेको जानकारी दिए ।
उनले कोरोना भाइरसको संक्रमणलाई लिएर प्रधानमन्त्रीकै सक्रियतामा ४ पटक बैठक बसेको तथा अहिले उपप्रधानको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाइएको र यसको सचिव नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था गरिएको जानकारी दिए ।
त्यसैगरी अस्पताल क्षेत्रसँग सम्बन्धित रहेकालाई परिचालन गर्न सजिलो होस् भनेर मुख्य सचिवको नेतृत्वमा कार्यकारी समिति पनि बनाइएको उनले उल्लेख गरे ।
प्रतिक्रिया