काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बजारमा नून र चिनीको अभाव हुन लागेको हल्ला आधारहिन भएको बताएको छ।
कर्पोरेसनले देशभरका उपभोक्तालाई आवश्यक पर्ने १० महिनासम्मको लागि नून व्यवस्था गर्न सक्ने बताएको छ भने चिनीको आपूर्तिमा पनि कुनै अभाव नहुने उसले जनाएको छ।
उसले शनिबार एक सुचना जारी गर्दै ‘साल्ट ट्रेडिङसँग १० महिनाभन्दा बढि आपूर्ति व्यवस्था मिलाउने गरी नूनको बफर स्टक मौज्दात’ रहेको जनाएको हो।
‘विगतमा नेपालमा भएको अघोषित नाकाबन्दी, विनाशकारी भूकम्प लगायतका समयहरुमा नेपालमा सहज, सरल र सुपथ मूल्यमा कहिँ कतै कुनै अभाव नहुने गरी आयोडिनयुक्त नूनको आपुर्ति व्यवस्था मिलाउँदै आएको व्यहोरा सर्वविदितै छ,’ कर्पोरेसनले भनेको छ।
कर्पोरेसनका अनुसार नेपालभरका जनतालाई नूनको आपूर्ति व्यवस्था मिलाउन कर्पोरेसन अन्तर्गतका विभिन्न कार्यालय समेतमा करिब १ लाख ३६ हजार मेट्रिक टन गोदाममा र २२ हजार ५०० मेट्रिक टन मार्गस्थल गरी करिब १ लाख ५८ हजार ५०० मेट्रिक टन आयोडिनयुक्त नून बफर स्टक मौज्दात रहेको छ।
सो परिमाणको आयोडिनयुक्त नूनले देशभरका जनतालाई करिब १० महिनाभन्दा बढि समयसम्म आपूर्ति व्यवस्था मिलाउन सकिने उसले बताएको छ।
प्रतिक्रिया