+
Search

ताजा अपडेट +

पपुलर +

ग्राहकको भेषमा पोखराका बजारमा उद्योगमन्त्री भट्टद्वारा छड्के अनुगमन

4KNationalDaily
२०७६ चैत्र १, शनिबार १४:१० बजे

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पोखराका बजारमा पसल र डिपार्टमेन्टल स्टोरमा ग्राहकको भेष गरेर छड्के अनुगमन गरेका छन् ।

मन्त्री भट्टले शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर छड्के अनुगमन गरेका हुन् ।

डिपार्टमेन्टल स्टोरमा छिरेर उनले सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे जिज्ञासा राखेका थिए ।

एउटा डिपार्टमेन्टल स्टोरमा छिरेर मन्त्री भट्टले एक किलो चिनी र एक किलो नुन माग्छन् । नुनको मूल्य सोध्दा डिमार्टमेन्टल सञ्चालक महिलाले एक प्याकेटको २५ रुपैयाँ बताउँछिन् ।

त्यसपछि मन्त्री भट्टले साल्ट ट्रेडिङले तोकेको मूल्य २० रुपैयाँ हो तर पाँच रुपैयाँ बढी लिएर उपभोक्ता किन ठगेको भन्छन् ।

जवाफमा ती महिलाले आफूले खरिद गरेर ल्याउने ठाउँबाटै यस्तै आउने गरेको बताएपछि मन्त्री भट्टले खरिद गर्ने ठाउँको फोन नम्बर मागेको एक भिडियोमा देखिन्छ ।

मन्त्री भट्टको सचिवालयका एक सदस्यका अनुसार बढी मूल्य लिइएकोबारे नोट बनाएर आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइएको छ ।

पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ ।

यसअघि मन्त्री भट्टले काठमाडौंका औषधि पसल र खाद्य स्टोरमा पनि अनुगमन गरेका थिए । कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै नेपालमा दैनिक उपभोग्य वस्तुका साथै मास्क र स्यानिटाइजरको कालोबजारी बढेको छ ।

उपभोक्ताले खाना पकाउने ग्यासको चर्को अभाव झेलिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily