काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास बनाइरहेका भूकम्पपीडित लाभग्राहीलाई २०७७ मंसिर मसान्तसम्म तेस्रो किस्ता लिइसक्न आग्रह गरेको छ ।
निजी आवास पुनर्निर्माणसम्बन्धी नयाँ समयसीमा तोक्दै प्राधिकरणले पहिलो किस्ता यही चैत मसान्त र दोस्रो किस्ता आगामी असार मसान्तसम्म लिइसक्नुपर्ने व्यवस्था गरेको छ ।
सरकारले भूकम्पपीडित लाभग्राहीका निजी आवास बनाउनका लागि पहिलो, दोस्रो र तेस्रो किस्तामा गरी रू. ३ लाख अनुदान दिँदै आएको छ ।
तेस्रो किस्ता लगेपछि भने भूकम्पपीडितले घर निर्माण गरिसकेको मानिन्छ । प्राधिकरणले सूचना जारी गरी छूट तथा पुनः जाँच सर्वेक्षण २०७५/७६ ले कायम गरेका लाभग्राही र जोखिम तथा भूमिहीन लाभग्राहीले चैत मसान्तसम्ममा पहिलो किस्ता लिनुपर्ने बताएको छ ।
यसैगरी २०७६ माघ मसान्तभन्दा पहिला किस्ता लिएकाले आगामी असार मसान्तसम्म दोस्रो किस्ता लिनुपर्ने समयसीमा प्राधिकरणले तोकेको छ ।
निजी आवास निर्माणलाई पहिलो प्राथमिकतामा सरकारले राखेको छ । भूकम्प गएको झन्डै ५ वर्ष पुग्न लाग्दा पहिलो किस्ताको अनुदान ७ लाख ८० हजार ५०१, दोस्रो किस्ता ६ लाख ३९ हजार ५३४ र तेस्रो किस्ता ५ लाख ४७ हजार ६३२ लाभग्राहीले निजी आवास निर्माणका लागि अनुदान लिइसकेको प्राधिकरणको तथ्यांक छ ।
यस अवधिमा ४ लाख ९३ हजार ३७५ भूकम्पपीडितले घर बनाइसकेका छन् भने ६ लाख ८३ हजार १९१ लाभग्राहीका निजी आवास निर्माणाधीन अवस्थामा छन् ।
निजी आवास बनाउने लाभग्राहीको सूचीमा रहेका भूकम्पपीडितले पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख र तेस्रोमा ५० हजार अनुदान पाउँछन् ।
प्रतिक्रिया