चितवन- कोरोना भाइरस संक्रमितको लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ ।
भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइराखेको अस्पतालमा ५० शैयाको क्षमतामा शुक्रबारबाटै ओपोडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
कोरोना नियन्त्रण कार्यदलको बिहीबार बसेको वैठकले काम तीब्र गतीमा बढेकाले शुक्रबारबाट सञ्चालनमा ल्याउने निर्णय भएको उनले बताइन् ।
‘७० शैयाको अस्पताल निर्माण गर्ने तयारी रहेको छ’, प्रमुख दाहालले भनिन्, ‘अहिलेलाई ओपीडी सेवा हुने छ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आइसियु सेवा दिने गरी तयारी तीब्र पारिएको छ ।’
कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले भने, ‘प्रदर्शनी केन्द्रको तीन वटै भवन प्रयोग गर्नु परेमा तीनसय वेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौं ।
तत्काल ७० शैया क्षमताको निर्माण गरिने छ त्यसपछि आवश्यकताको आधारमा थपिँदै जाने योजना रहेको उनले जानकारी दिए ।
अस्पतालमा खटिने स्वास्थ्यकर्मीको पनि व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिइन् । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् ।
विरामीको चाप र आवश्यकता अनुसार जनशक्ति र उपकरणहरु थपिँदै लैजाने योजना रहेको छ ।
महामारीका रुपमा फैलिँदै गएको कोरोना संक्रमणलाइ रोक्न र विरामी भएमा उपचारको लागि अलगै अस्पताल निर्माण गर्ने निर्णय भरतपुर महानगरपालिकाले गरेको थियो ।
७२ घण्टा भित्र अस्पताल निर्माण गर्ने घोषणा गरेसंगै अस्पताल सोही समय भित्र सञ्चालनको तयारी गरिएको छ ।
बिहीबार वसेको कार्यदलको वैठकले शुक्रबारबाट चितवनमा सञ्चालन हुँदै आएको हाटबजार र केबुलकारपनि बन्द गर्ने निर्णय भएको कार्यदलका सदस्य नारायण अधिकारीले जानकारी दिए ।
अस्पताल निर्माणको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका छन् । यसअघि कोरोना फैलिएपछि छिमेकी मुलक चीनले उहान शहरमा १० दिनमा एक हजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो ।
भरतपुरमा पनि त्यसकै झल्को दिनेगरी ७२ घण्टामा ७० बेडको अस्पताल निर्माण गरेर चमत्कार गरिएको हो ।
प्रतिक्रिया