काठमाडौँ- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले लकडाउन गर्ने तयारी गरेको छ ।
सरकारले रोकथामको उपायबारे चारवटै सुरक्षा निकाय र स्वास्थ्य अधिकारीसँग परामर्श गरेर अगाडी बढ्ने तयारी गरिरहेको बताइएको छ ।
गृहमन्त्रालयले चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरिरहेको उच्च स्रोतले जनाएको छ ।
संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनु पर्ने आँकलन गर्दै गृहमन्त्रालयले गृहकार्य गरिरहेको छ ।
कोरोना संक्रमित भेटिएमा आवश्यकताअनुसार सिमित क्षेत्रलाई लकडाउन गर्न सकिने गरी खाका बनाउन लागेको गृहमन्त्रालयको एक अधिकारीले जानकारी दिए ।
बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतमा बसेको राष्ट्रिय बिपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा लकडाउन मोडालिटी बनाउने विषयमा छलफल भएको थियो।
बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सम्भावित संकटको सामना गर्न सबैखाले तयारी गर्नुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्रीले आज सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
सरकारले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अन्य पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । कोरोनाबाट आम जनतालाई सुरक्षित राख्न भन्दै सरकारले ‘लक डाउन’ घोषणा गर्नसक्ने बताइएको छ ।
प्रतिक्रिया