+
Search

ताजा अपडेट +

पपुलर +

२ लाखको चेकसहित प्रधानमन्त्रीलाई गायक सपुतको खुलापत्र : रोग र भोकको डरमा कति फरक छ?

4KNationalDaily
२०७६ चैत्र १०, सोमबार १७:४१ बजे

काठमाडौं- चर्चित लोकगायक प्रकाश सपुतले सरकारले स्थापना गरेको कोरोना भाइरसको जोखिम न्यूनीकरण कोषमा २ लाख रुपैयाँ प्रदान गरेका छन्। उनले पत्रकार महासंघ बाग्लुङमार्फत् सो रकमको चेक सरकारलाई पठाएका हुन्।

बाग्लुङस्थित आफ्नै पुर्ख्यौली घरमा सेल्फ क्वारेन्टाइनमा रहेका सपुतले आफ्नो तर्फबाट सहयोगस्वरुप उक्त रकमको चेक हस्तान्तरण गरेको बताए। चेक हस्तान्तरणपछि प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै लामो खुलापत्र पनि लेखेका छन्।

खुलापत्रमा उनले कोरोना भाइरसको संक्रमणबाट पीडित हुने मात्र होइन, यसको प्रभावका कारण रोजगार गुमाएका मजदुरलाई समेत सरकारले हेर्नुपर्ने उल्लेख गरेका छन्। उनले लेखेको खुलापत्र जस्ताको तस्तै :

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार

विश्वमा भयानक रुप लिँदै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सह्रानीय छन्।

भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमजोर शरीर तर बलियो आत्मवल सहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग गरेको भिडियो कन्फेरेन्स र शुक्रबार साँझको सम्बोधनले व्यक्तिगत रुपमा तपाईंको सक्रियता र सरकारको ज़िम्मेवारी बोध प्रति हामी कृतज्ञ छौं।

यद्यपि केही दिन अगाडि स्वास्थ्य मन्त्रीज्यूले घरमा पाहुना आएको भन्दै देखाएको व्यक्तिगत हतारोले खिस्रिक्क परेका थियौं। अरु त सबै ठिकै छ। कोशिस राम्रो छ। यसलाई कायम राख्नुहोस्।

सरकारकै निर्देशनलाई पालना गर्दै सवै काम धन्दा छोडेर भीडभाड कम हुने र वस्ति अलि पातलो भएको आफ्नै गाउँको घरमा आएर सेल्फ क्वारेनटाइनमा बसेका छौं।

दशैमा समेत नजुटिने हाम्रो परिवार यसपाली घरभरी भएका छौं। एक अर्थमा मेरो बाबा, आमा र गाउ सार्है खुसी देखिएका छन् तर त्यो खुसी धेरैबेर रहन सकेन।

जब साँझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नु भयो – ‘अब अनिश्चितकालीन बन्द भन्छन्। यसरी सव परिवार भेला भएर बसी – बसी खान कहिलेसम्म पुग्ने हो ? ‘ माहोल स्तब्ध भयो। खाना खल्लो ! (बाबा लामो बैदेशिक रोजगारी पछि अहिले घरमा हुनुहुन्छ।

मैले नै उहाँलाई ढाडस दिएको थिए – बा ! तपाईं बुढो हुनुभो। अब बिदेश नजानुस्।म गर्छु।’ आमा गृहिणी हुनुहुन्छ। माइलो भाई रोजगारीको लागि कहिले मलेशिया कहिले दिल्ली भौतारिरहेको छ।

खास तरक्की गर्न सकेको छैन। बुहारी र छोरा गाउँमै छन्। अर्को दुईजना भाई र मेरी श्रीमती बिन्दु अध्यनरत छन् र आफ्नो करियरमा संघर्षरत छन्। मेरी एउटा छोरी छिन ३ वर्षकी।

पछिल्लो ५/६ वर्षदेखि १० जनाको हाम्रो परिवार नितान्त ममा निर्भर छ भने पेशाले म गीतसंगितमा निर्भर छु।

पूर्णकालिन कलाकार भनम न। दर्शकस्रोताको मायाले जेनतेन चलिरहेको छ। हैन, राम्रै चलिरहेको छ। ) खाना खाइवरी कोठामा पुगेपछि श्रीमती बिन्दुजी र मैले हाम्रो अकाउन्ट चेक गर्यौ।

यहीवर्ष काठमाडौंमा सानो घर लिएकाले हामीसँग धेरै नगद मौज्दात रहनेछ। व्यवस्थापनमा मास्टर्स डिग्री बिन्दुजीले हिसाब निकाल्नु भयो – सामान्य खर्चमा १० जनाको हाम्रो परिवारलाई बसी–बसी खाए पनि ४ देखि ६ महिनालाई पुग्ने पैसा हामसँग रहेछ। मैले आफूलाई भंयकर सम्पन्न भएको महशुस गरें।

मैले आफ्नो करियरमा कहिल्यै पैसालाई महत्व दिइनँ। आत्मसम्मान र सपना को पछि लागें। यद्यपि दुईछाक टार्न गरेको संघर्षको छुट्टै कहाली लाग्दो कथा छ।

परिवारलाई हुँदा खाने धरातलबाट उठाएर ६ महिना बसी–बसी खान पुग्ने धन जोड्नु भनेको ठुलो उपलब्धि हो। मैले खत्रै फट्को मारेको हो, हाम्रो पुर्खाको तुलनामा। बिन्दुजीलाई यति गफ लाइदेको उनी ढुक्क भएर निदाइन्। तर म निदाउन सकिनँ।

सम्माननीय प्रधान मन्त्रीज्यू,

के हाम्रो बाले गरेको जस्तो अड्कल र चिन्ता हजुरले गर्नु भएको छ ? मन्त्री परिषदको कोरोना भाइरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रह्यो भने हामी कति दिनसम्म पाल्न सक्छौं हाम्रो जनतालाई भनेर ?

के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो? मैले आफुले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफूले पाल्नुपर्ने नागरिकको हिसाब राखेको छ ?

मैले छ महिना भने जस्तै के तपाईं भन्न सक्नुहुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिति आयो भने सरकारसँग कति महिनालाई पुग्ने भकारी छ ?

समस्या अहिल्यैबाट सुरु भैसकेको छ। कोरोना नआए पनि भोकमरीले अलिअलि छायाँ देखाइसकेको छ !

कम्पनी बन्द भएपछि कतै सेल्फ़ क्वारेन्टाइन त कतै आइसोलेसनमा थुनिएको परदेशीले उसकै भरमा बसेको आफ्नो परिवारलाई केही हप्तादेखि पैसा झिक्ने रेमिट नम्बर टिपाएको छैन!

काम ठप्पै भएपछि खल्तीमा डेढदुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महंगिएको पसल अगाडि गएर घन्टौं सोच्छ होला – यति पैसाले स्यानीटाइजर किनम् कि स्यानी छोरीको लागि एक गाँस चामल ? हात धुनें साबुन किनम् कि भात भिजाउने तिउन? कोरोना छेक्ने माक्स किनम कि आँशु पुछ्ने रुमाल ?

रोगको डर र भोकको डरमा कति फरक छ ? रोगले मर्नु र भोकले मर्नुमा मृत्युको मूल्य कति फरक हो ? कि उस्तै उस्तै हो ! साँझ निदाउने बेला एकपटक ‘कवि’ जस्तो मन बनाएर, एकपटक ‘बा ‘ जस्तो मन बनाएर यस्सो सोच्नुस् त प्रमज्यू। के भन्दो रछ हजुरको मनले !

ल मानौं परिस्थिति यस्तै भयो- आफूसँग हुँदासम्म खाने, नभए मर्ने स्थिति आयो भने हाम्रो परिवारको आयु ६ महिना तोकियो। यसबाहेक पनि केही रक़म बच्ने भयो करिब – २ लाख रुपैयाँ। एउटा जिम्मेवार नागरिकका हैसियतले यो रकम यो विषम परिस्थितिका निमित्त सहयोग गर्न चाहन्छु।

कहाँ कसको नाममा दिने निधो नभएपछि रकम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषज्यूको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु।

यो रकम सरकारकै मातहतमा जहाँ चलाए पनि हुन्छ। कोरोनाको आंशकामा बिना पूर्वाधार बिरामी जाँचिरहेका ती हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मीका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागे पनि म खुसी!

सेल्फ क्वारेन्टाइनमा बस्न नपाइ ज्यानको बाजी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्सनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी।

रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्धा/ बालबालिका र अन्य रोगले ग्रस्त कोहि कसैलाई दुई बोतल भिटामिन ख्वाउन काम लागे पनि म खुसी।

काम धन्दा सबै ठप्प भएर भोकभोकै हुनुपर्ने केही श्रमिक घरपरिवारलाई गोडाएक महिना दुई गाँस दालभात ख्वाउन पाए पनि म खुसी। रकम थोरै छ तर यस्तो परिस्थितिमा जहाँ जसरी काम लागे पनि म खुसी।

ल मानौं, यो सबै परिस्थितीको सामना र जिम्मेवारी सरकारले नै पूरा गर्ने भयो। सामान्य नागरिकको सहयोग नचाहिने भयो र मेरो चेक फिर्ता आयो भने त म झनै खुसी।

यदि फिर्ता आयो भने म यो चेकको केही पैसाले सरकारको महिमामा एउटा गज्जबको गित रेकर्ड गर्नेछु। र बाँकी रकमले मेरी छोरीको शैक्षिक बिमा गरिदिनेछु।

उसले धेरै पढोस् र विश्वमा फेरि यस्ता विषम परिस्थिति आयो भने रकम नतोकिएको चेक डोनेसन गर्न सक्ने हैसियत बनाओस्। आफ्नो देशका लागि मात्रै होइन पुरै विश्वका लागि।

आफ्नो र हाम्रो ख्याल राख्नु होला।धन्यवाद।

प्रकाश सपुत
एक नागरिक/ एक कलाकार।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily