+
Search

ताजा अपडेट +

पपुलर +

आर्यघाटमा जान छाडे मलामी, शोकमा रहेकाले सान्त्वना पनि पाउँदैनन्!

4KNationalDaily
२०७६ चैत्र १७, सोमबार ०९:०९ बजे

काठमाडौं- सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् ।

मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि छाक टारे । तर, टार्नै नसकिने मृत्युले मान्छेलाई कसरी घुँडा टेकाउँछ, हामीले शनिबार पशुपति आर्यघाटमा देख्यौँ ।

हामी पुग्दा विद्युतीय शवदाहगृहको मूलढोका ढप्क्याइएको थियो । झ्यालबाट टिकट काउन्टरमा एक युवा बार्गेनिङ गरिरहेझैँ देखिए । हामी नजिकै पुग्यौँ।

काउन्टरभित्रबाट कर्मचारी भन्दै थिए, ‘यति रकममा त हुँदै हुन्न, कहाँ लानु छ लैजाऊ ।’ यो कठोर शब्द सुनेर युवाको मुहारमा पीडा मडारियो । सँगै रहेकी युवती अवाक भइन्।

उनीहरूको पीडा के हो? हामीले चासो राखेपछि संवाद लम्बियो । उनीहरूले हामीलाई बागमती किनारतर्फ लगे । किनारमा एउटा शव देखियो । छेउमा थिइन्– २७ वर्षीया रिना श्रेष्ठ र रुँदै गरेका दुई बच्चा।

रिनाका श्रीमान् ४० वर्षीय राजेशको शनिबार बिहान निधन भएको थियो । भक्तपुरका स्थायी निवासी उनी नक्सालमा परिवारसहित बस्दै आएका थिए । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्थे । तीन सन्तान नाबालक रहेकाे खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीविनोद विष्टले लेखेका छन्।।

घरमूली नै बिरामी भएपछि परिवार चरम आर्थिक संकटमा थियो । ‘राम्रो उपचार गरेर बचाउन सकिएन, आज बिहान प्राण गयो, लास उठाउनसमेत रकम भएन,’ रिनाले भनिन्।

रिनाका अनुसार उनले छिमेकीसँग चन्दा उठाउन खोजेका थिए । तर, लकडाउनका कारण ४५ सय रुपैयाँ मात्रै जम्मा भयो । मलामी नपाएपछि शवबाहनमा हालेर आर्यघाट ल्याए । त्यसैमा दुई हजार खर्च भयो । आर्यघाट पुगेपछि उनीहरूले थाहा पाए– शव जलाउने ठाउँ पनि स्तरअनुसार फरकफरक छ।

आर्थिक हैसियत भएकालाई माथिपट्टि, विपन्नलाई तलपट्टि । सबैभन्दा सस्तो ठाउँमा पनि ६ हजार रुपैयाँ लाग्ने देखियो । तर, उनीहरूसँग २५ सय रुपैयाँ मात्र थियो।

कसैले विद्युतीय शवदाहगृहमा सस्तो पर्छ भनेर सल्लाह दियो । त्यसैले रिनालाई बागमती किनारमै छाडेर उनका दुई आफन्त यता आएका रहेछन् ।

तर, त्यहाँ पनि चार हजार लाग्ने भयो । आफूसँग २५ सय भएकाले त्यतिमै शवदाह गरिदिन उनीहरू अनुरोध गरिरहेका थिए । तर, शवदाहगृहका कर्मचारी ‘नो डिस्काउन्ट’को मुडमा थिए।

रिनालाई साथ दिन आर्यघाट पुगेकी रेणु थापाले भनिन्, ‘१२ बजे नै शव आर्यघाट ल्यायौँ । तर, पैसा नभएकाले शव अलपत्र परेको छ।’

बाबुको मृत्युमा शोकमा परेका दुई बालबालिका यो सब संवाद सुनिरहेका थिए । उनीहरूको मुहारमा मडारिएको पीडाले हामीलाई मौन बस्न दिएन । त्यहीँबाट पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडालाई फोन लगायौँ । घटना विवरण सुनायौँ । उनले समस्या समाधान गर्ने वचन दिए।

हामी फेरि बागमती किनारतर्फ लाग्यौँ । भष्मेश्वर घाटमा चार शव जल्दै थिए, अरू लाइनमा थिए । मृत्युपछि पनि लाइनमा बस्नुपर्ने यो अर्को विडम्बनाले हाम्रो समृद्धिको यात्रालाई गिज्याइरहेको थियो।

केहीबेरमा काभ्रेको कोसीपारीका ४८ वर्षीय रूपेश परियारको शव जलाउने पालोमा थियो । प्रतीक्षालयमा सुकसुकाउँदै थिइन् उनकी भाउजू पार्वती । घरी पछ्यौरीले आँसु पछ्थिन्, घरी फलामको डण्डीमा टाउको अड्याउँथिन् । शोकमा सान्त्वना दिन वरिपरि खासै कोही थिएन।

पार्वतीनजिक पुग्यौँ । उनले लकडाउनको पीडा सुनाइन्, ‘बिहान टिचिङमा देवरको मृत्यु भयो । बल्लबल्ल घाटसम्म शव ल्यायौँ । छोरा काठमाडौंमा भएकाले दागबत्ती दिन त गाह्रो भएन, तर मलामी कोही आउन पाएनन् । श्रीमतीले समेत मुख हेर्न नपाई दाहसंस्कार गर्नुपर्ने अवस्था भयो।’

उतापट्टि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ की ५२ वर्षीया मतिमाया श्रेष्ठको शव जल्दै थियो । सामुन्ने प्रतीक्षालयको बेन्चमा थिए, ६३ वर्षीय श्रीमान् कृष्णलाल । जलिरहेको शव नियाल्दै हत्केलाले आँसु पुछ्दै थिए । तर, उनलाई सम्हाल्न आसपासमा कोही थिएन।

हामी नजिक पुग्यौँ, उनले चुरोटको सर्को गहिरोसँग ताने । प्रेस लेखिएको ज्याकेट लगाएकाले हामीले परिचय दिनुपरेन । प्रश्न पूरा नहुँदै उनले भन्न थाले, ‘बाबु मेरी श्रीमतीले मलामीसमेत पाइनन् ।

यो पीडामा चाहिने भनेकै आफन्त हो । तर, सिन्धुपाल्चोकबाट कोही आउन सकेनन् । पीडाले टाउको फुट्लाझैँ हुँदा वह पोख्ने आफन्तसमेत पाइनँ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily