+
Search

ताजा अपडेट +

पपुलर +

चीनबाट आएका सामानको गुणस्तरमा शंका गर्नु निराधारः चिनियाँ राजदूत

4KNationalDaily
२०७६ चैत्र २५, मंगलवार १०:२४ बजे

काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँमा नेपाल मात्र होइन, विश्वको साथमा चीन सँगै रहने बताएकी छन्।

चीनको हुपई प्रान्तको वुहानबाट सुरु भएको कोरोना संक्रमणविरुद्ध ऊ सफलता हासिल गरिरहेको छ। ‘राष्ट्रपति सी चिनफिङको नेतृत्वमा महामारीलाई विस्तारै समाधान गर्दै सकारात्मक पाटोमा ल्याउने काम भइरहेको छ।

७६ हजार संक्रमित ठीक भइसकेका छन्’, चिनियाँ दूतावासले राजदूत होउसँगको संयुक्त अन्तर्वार्ता भन्दै पठाएको एक विज्ञप्तिमा लेखिएको छ, ‘अहिले यो महामारी विश्वभर फैलिएको छ। यसविरुद्धको लडाइँमा चीन सबैसँग हातेमालो गर्छ।’

चीनमा बाहिरबाट आएका कोरोना संक्रमित भेटिएकाले यसलाई आयातीत संक्रमण भनिएको छ। त्यसको संख्या ९ सयभन्दा बढी रहेको जानकारी उनले दिएकी छन्।

चीन महामारीविरुद्ध लडिरहँदा नेपालले सहयोग उपलब्ध गराएर चीनलाई पीडामा साथ दिएको पनि विज्ञप्तिमा उल्लेख छ।

उनले नेपालले गरेको सहयोगको प्रशंसा गर्दै नेपाललाई पनि चीनले सक्दो सहयोग गर्ने बताएकी छन्।

‘सम्बन्ध र सहयोग दोहोरो हुन्छ। हामी पनि यहाँको अहिलेको अवस्थामा सहयोग गरिरहेका छौं’, उनले भनेकी छन्, ‘हामीले नेपाल मात्र होइन, १ सय २० मुलुकमा कोरोनाविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराइरहेका छौं।’

उनले विश्वको आगामी सुन्दर भविष्यका लागि सबै सहयोगी हुन आवश्यक रहेको उल्लेख गरेकी छन्।

‘चीनले कहिले पनि चीन पहिलो भन्ने नीति लिएको छैन र लिने पनि छैन’, उनले भनेकी छन्, ‘हामी सबैसँग हातेमालो गरेर अघि बढ्ने छौं। नेपालजस्तो छिमेकसँग झनै निकट रहेर सहकार्य गरिरहनेछौं। हामीले हाम्रो अनुभव र सुझाव मात्र होइन आवश्यक सामग्री पनि नेपाल सरकारलाई एक लट उपलब्ध गराइसकेका छौं।’

नेपालमा झैं लकडाउनको बाटो अपनाएर चीनले समस्या समाधान गरेको विज्ञप्तिमा उल्लेख छ। परीक्षणका लागि आवश्यक सामग्रीहरु सक्दो उपलब्ध गराउने उनले जनाएकी छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समितिसँग कूटनीतिक च्यानलमार्फत भेटघाट गरी आवश्यक सामग्री ल्याउने विषयमा छलफल गरिरहेको उनले उल्लेख गरेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily