काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुनलाई कारबाही गर्न पत्राचार गरिएको हो । सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ ।
कोरोना भाइरसको उपचारमा दिनरात खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका वरिष्ठ चिकित्सक डा पुनसँग सरकारले स्पष्टिकरण सोधेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार पुनसँग लिखित स्पष्टिकरण सोधेका हुन्। स्रोतका अनुसार डा.पुनलाई विभिन्न सञ्चारमाध्यममा राखेका धारणामा प्रश्न उठाउँदै सरकारले स्पष्टिकरण सोधेकाे हाे।
डा.पुनले पनि स्पष्टिकरण साेधेकाे स्वीकारे। ‘हिजो स्पष्टिकरण पत्र आएको छ। आइतबार स्पष्टिकरणका लागि मन्त्रालय जादै छु,’ डा. पुनले भने, ‘म जापान छाेडेर देशको लागि काम गर्न भनेर आएको हुँ। काम गर्दा यस्तो पुरस्कार दिन्छन् भने ठीकै छ।’
स्वास्थ्यमन्त्री ढकालले डा.पुनलाई केही दिनदेखि मन्त्रालयमै हाजिर गर्न उर्दी पनि जारी गरेका थिए। सरकारले महामारीका वेला संक्रमण रोग विशेषज्ञलाई नै मन्त्रालयमा जगेडामा तान्ने र स्पष्टिकरण सोधेर चिकित्सकहरुको मनोवल थप कमजोर बनाएको स्वास्थ्यकर्मीकाे भनाइ छ।
डा.पुन यसअघि नेपाल देखिएका सबै खालका सरुवा रोगको उपचारमा सधै अग्रस्थानमा रहँदै आएका थिए। डेंगु, स्वाईन फ्लु, मलेरिया, एचआईभीलगायतको उपचारमा डा. पुनकै नेतृत्वका टिमले कामा गर्दै आएका हुन्।
प्रतिक्रिया