काठमाडौं- देशब्यापी लकडाउनको कारण समस्यामा परेकालाई समाजसेवी एवम् युवा उद्यमी जोन घलेले खाद्य सामग्रीसहितको राहत सहयोग गरेका छन् । उत्तरी गोरखाको धार्चे, चुम्नुर्वी र वारपाकबाट काठमाडौं आई बस्ने समस्यामा परेका धार्चेवासीलाई सांसद हरी अधिकारीको पहलमा घलेले खाद्य सामग्रीसहितको राहत सहयोग गरेका हुन्।
गोरखा धार्चे गाउँपालिकाका स्थानीय जोन घले सामाजिक सेवाको क्षेत्रमा एक चर्चित नाम हो। लकडाउनले समस्यामा परेकालाई उनले विभिन्न रुपमा सहयोग गर्दै आएका छन् ।
लकडाउनले समस्यामा परेका परिवारलाई चामल, तेल, नुन, दाल र चिउरासहितको खाद्य सामग्री वितरण गरिएको उक्त अभियानका अभियन्ता पुनम गुरुङ्गले जानकारी दिए । तीन सयभन्दा बढी परिवारलाई राहत बितरण गरि सकिएको र यो अभियान अझै जारी रहेको समेत उनले बताए ।
राजधानी काठमाडौँमा बस्ने धार्चे, चुम्नुर्वी र वारपाकवासीलाई घरघरमा पुगेर खाद्य सामग्री वितरण गरिएको अर्का अभियन्ता सन्तोष घलेले जानकारी दिए ।
बिकास हाईड्रोका डाईरेक्टर समेत रहेका जोन घलेले संकटको बेला धार्चेवासीलाई ठुलो सहयोग गर्दै आएका छन् । उत्तरी गोरखावासीको संकटको साथि बनेका उनले विगतमा पनि यस्तो खालको सहयोग गर्दै आएको स्थानीय राकेश गुरुङ्गले बताए।
समाजसेवी घलेले काठमाडौँ र गोरखामा रहेको ४ वटै घरमा भाडामा बस्ने सबैलाई १ महिनाको घर भाडा छुट दिने घोषणा यस अघिनै गरिसकेका छन्। उनले संकटको बेला ३ लाख बराबरको घर भाडा छुट दिएका हुन्। संकटको बेला उत्तरी गोरखावासीलाई सहयोग गर्ने पाउदा आफुलाई निकै खुशी भएको जोन घले बताउछन् ।
यस्तो संकटको बेला जन्मभुमिप्रति ठुलो जिम्मेवारी रहेको भन्दै घलेले भने, ‘म आफ्ना गाउँवासीको सुखदु:खको सहयात्री बन्न चाहान्छु, यो मेरो जन्मभुमिप्रतिको दायित्व पनि हो।’ नेपाल अहिले कोरोनाविरुद्धको लडाईमा रहेको भन्दै घलेले भने, ‘यस्तो स्वास्थ्य संकटका बेला मेरो समाजप्रति ठुलो जिम्मेवारी छ, म त्यो पुरा गर्छु।’
हाल अष्ट्रेलियामा रहेका घले सामाजिक काम भने पछि हुरुक्क हुने उनका सहपाठीहरु बताउछन् । अष्ट्रेलियामा घले हार्बेस्टिंगका डारेक्टर समेत रहेका उनि धार्चेवासीको सुखदु:खको साथि रहेको स्थानिय राकेश गुरूङले बताए । २०७२ सालको भुकम्पको महाविपत्तिमा पनि घलेले गोरखाका प्रभावितलाई जस्तापातासहितका सामग्री सहयोग गरेका थिए।
प्रतिक्रिया