+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई बाबुरामको सुझाब– तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ, त्यो नै उचित निकास हुन्छ

4KNationalDaily
२०७७ बैशाख २७, शनिबार ११:४१ बजे

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्री संविधान, लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दे नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने तर्क गरेका हुन् ।

लोकतन्त्रको सुनिश्चितता गर्दै मुलुकलाई राजनीतिको सही बाटोमा हिँडाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ ।

उनले लोकतन्त्र र कानुनविरोधी क्रियाकलापलाई तार्किक निष्कर्षमा पुऱ्याउन सत्ताको दुरुपयोग नगरी राजनीतिक नैतिकता देखाउन प्रधामन्त्रीलाई आग्रह गरे ।

कुर्सीमा बस्दैमा पद ठूलो नहुने भन्दै उनले सत्कर्म गरेर इतिहास बनाउन प्रधानमन्त्रीलाई सुझाब दिए ।

उनले भने, ‘तपाईं जुन उचाइमा पुग्नुभएको छ, त्यहीँ रहनुहोस् । तपाईंले अनावश्यक ढंगले यस्ता प्रकारका गतिविधिमा संलग्न हुँदा तपाईं आफैँमाथि पनि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईंले आराम दिनुपर्छ । र, यो लोकतन्त्रलाई बचाएर र आफ्नै छविलाई पनि बचाएर अगाडि बढाउन तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो नै एउटा उचित निकास हुन्छ ।’

कोरोना संक्रमणको जटिल अनि संवेदनशील समयमा मानवीय सवालमा केन्द्रित हुनुपर्नेमा मुलुकमा अत्यन्तै गम्भीर प्रकृतिका घटना भएको भन्दै उनले समयमै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो देशको कार्यकारी नेतृत्व रातभर पार्टी फुटाउने षड्यन्त्र गरेर बस्छ र संवैधानिक अंगहरू कब्जा गरेर आफ्नो मनोखुसीले समय संवैधानिक अंगमा नियुक्ति गरेर निरंकुशतातर्फ देशलाई लैजान सक्छ भन्ने भाव पैदा हुनु लोकतन्त्रको निम्ति शुभसंकेत होइन ।’

अध्यादेश जारी प्रकरणले ठूलो अनिष्टको संकेत गरेको भन्दै उनले फिर्ता भइहाल्यो भनेर छोड्न नहुने बताए । प्रधानमन्त्री स्वयंले आफ्नो नभई अरूको पार्टी फुटाउन अध्यादेश ल्याएको भन्नुले प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठेको उनको टिप्पणी छ ।

लकडाउनको समयमा काठमाडाैंदेखि तराईका जिल्ला पुगेर रातारात सांसदलाई काठमाडाैंमा ल्याएको घटनाले नै सबै कुरा स्पष्ट गरेको भन्दै उनले त्यसलाई कानुनी प्रक्रियाअनुसार समाधान गर्न आग्रह गरे ।

पूर्वप्रधानमन्त्री जाहेरी दिन जाँदा प्रहरीले नलिएको प्रसंग उल्लेख गर्दै उनले सरकारबाट सुरक्षा निकायहरू पनि आतंकित बनेको दाबी गरे ।

उनले सरकारले सुरक्षा निकायलगायतका संघसंस्थाहरू भत्काएर लोकतन्त्र कमजोर बनाउने काम गरेको आरोप लगाए ।

उनले भने, ‘जो पीडित छ, तिनैमाथि पनि मुद्दा लगाइदिने । अनि प्रत्यक्ष–परोक्ष ढंगले पहल गर्ने । अब फच्चे गरौँ । तपाईंले पनि फिर्ता लिनु म पनि फिर्ता लिन्छु । यही हो लोकतन्त्र ? यही हो हाम्रो समाजवाद ?’

सबै कुराको फैसला राजनीतिले नै गर्ने भए पनि नेतृत्वको पदलोलुपता र स्वार्थकेन्द्रित कार्यशैलीका कारण जनताको नजरमा सबै राजनीतिज्ञको छवि बिग्रिँदै गएको र त्यसको परिणाम खतरनाक हुने उनको चेतावनी छ ।

उनले भने, ‘निर्वाचित सरकारको छवि राम्रो छैन । हामीले बोलेको कुरा अहिले कसैले पनि विश्वास गर्दैन । राजनीतिज्ञ, सांसद आदि भनेको सबै भ्रष्ट, गैरजिम्मेवार, सत्तालोलुप, पदलोलुप भन्ने खालको एउटा बिम्ब बनेको छ । त्यो अत्यन्तै खतरनाक छ ।’

उनले राजनीतिप्रति नै मान्छेको अविश्वास, आशंका र वितृष्णा फैलियो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेर मुलुक प्रतिगमनतर्फ जाने खतरा रहेकाले औँल्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily