+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा प्रवेशका लागि आरडीटी रिपोर्ट चाहिने, नभए १४ दिन क्वारेण्टाइन

4KNationalDaily
२०७७ जेष्ठ ८, बिहीबार १९:५८ बजे

गाेरखा- सर्वपक्षीय बैठकले व्यक्तिगत वा समूहगत रुपमा जिल्लाभित्रिनेलाई क्वारेण्टाइनमा राखी कोरोना परीक्षणको रिपोर्टको आधारमा घरमा पठाउने निर्णय गरेको छ ।

बिहिबार जिल्लाका सर्वपक्षिय बैठकले लकडाउनका बेला गोरखा प्रवेश गर्नेलाई क्वारेण्टाइनमा राखी कोरोना परीक्षण गरेर मात्र घरमा जान दिने निर्णय गरेकाे हाे ।

‘समूहगत रुपमा गोरखा प्रवेश गर्नेलाई सम्बन्धित पालिकाले व्यवस्था गरेको मास क्वारेण्टाइनमा राख्ने, कोरोना परीक्षण गर्ने र नतिजाको आधारमा उनीहरुको घर पठाउने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘यदि कोही अनौपचारिक ढंगले व्यक्तिगत रुपमा जिल्ला प्रवेश गरेको पाइएमा जिल्ला प्रवेश गर्ने विन्दूमा निर्माण गरिएको मास क्वारेण्टाइनमा १४ दिन राखेर कोरोना परीक्षण गरी सम्बन्धित पालिकाको सम्पर्कमा पठाउने निर्णय भएको छ ।’

बैठकले जिल्ला प्रवेश गर्ने प्रमुख नाकाहरु आरुघाट, घ्याल्चोक, मझुवा देउराली क्षेत्र, नयाँ पुल र तुरतुरेमा भएका मास क्वालेण्टाइनलाई थप व्यवस्थित गरी क्षमता विस्तार गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै बैठकले दुर्गम धार्चे र चुमनुब्री गाउँपालिकामा व्यवस्थित क्वारेन्टाइन नभएको हुदाँ तत्काल व्यवस्थित मास क्वारेण्टाइनस्थल निर्माणको व्यवस्था मिलाउने निर्णय गरेकाे छ ।

ल्याव स्थापनाका लागि पहल गरिने

गोरखा अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्न ल्याव स्थापनाका लागि पहल गरिने भएको छ ।

बैठकले ल्याव स्थापना र ल्याव टेक्निसियनलाई तत्काल तालिमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको कार्यालयका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए ।

बैठकले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जिल्लाको प्रमुख नाका मझुवा देउरालीमा स्थापित हेल्थ डेस्क र मनकामना बहिरा माद्यामिक विद्यालयमा स्थापित क्वारेन्टाइनहरुको सुरक्षा लागि निर्णय भएअनुसार आबश्यकताका आधारमा सेनालाई खटाउने निर्णय भएको छ ।

त्यस्तै, जिल्ला भित्र निर्माण गरिएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि सवै स्थानीय तहका वडामा रहेका राजनीतिक दलका कार्यकर्ता एवं टोल विकास संस्थाका सदस्यहरु परिचालन गरी कार्य गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily