काठमाडौँ– सत्तारुढ नेकपा सचिवालयको अनौपचारिक बैठक बालुवाटारमा सुरु भएको छ ।
नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता एजेन्डामा छलफल गर्न भन्दै बैठक बसेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता मुद्दामा छलफल हुने सम्भावना छ ।
भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिने संकेत देखिएको छ ।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नयाँ नक्सा समावेश गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भइसकेको छ ।
संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागिएको हो । यस विषयमा पनि नेकपा बैठकमा छलफल हुने बताइएको छ ।
यसबाहेक १५ जेठमा आउने आगामी वर्षको बजेट तयारीका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया