+
Search

ताजा अपडेट +

पपुलर +

छुवाछुतसम्बन्धी घटनाका अपराधीलाई सजाय दिने कुरामा सम्झौता गर्नेछैन : प्रधानमन्त्री

4KNationalDaily
२०७७ जेष्ठ २१, बुधबार ०९:४२ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतसम्बन्धि जघन्य घटनाका अपराधीलाई सजाय दिने कुरामा कुनै सम्झौता नगरिने बताएका छन्।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्।

उनले मानव हित विरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित नसहने प्रष्ट पारेका छन्।

‘मानव सभ्यताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने छ।

छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानुनी दायरामा ल्याउने छ। त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन’, शुभकामना सन्देशमा भनिएको छ।

वर्तमान सरकारले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पहिचान गरेको र त्यसलाई प्राप्त गर्ने संकल्प गर्दै त्यहाँसम्म पुग्ने बाटो तय गरेको भन्दै उनले त्यसका निम्ति भेदभावरहीत सामाजिक न्याय र समानता सहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको उल्लेख गरेका छन्।

‘संविधान र कानुनद्वारा यसरी स्पष्ट व्यवस्था गरिएको भए तापनि सरकारको दृढ प्रतिवद्धता र लगातारको प्रयासका बाबजुद समाजको पछौटेपन र कतिपय पक्षहरुमा रहेको अज्ञानता र भ्रमले अझै पनि समाजमा हाम्रा आकांक्षा, प्रयास र सभ्यतालाई चुनौति दिने छुवाछुतजस्ता अशोभनीय र जघन्य अपराध हुने गरेको हामी पाउँछौं’, सन्देशमा भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily