काठमाडौं- अरब सागरमा विकसित निसर्ग नामको सामुद्रिक आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा बढ्दै गएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालमा उक्त चक्रवातको अप्रत्यक्ष प्रभावले हिजै (बुधबार) देखि नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने त्यो क्रम आज (बिहीबार) पनि जारी रहनेछ।
आज दिउँसो विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा हुने सम्भावना छ भने रातिदेखि मध्य र पूर्वी क्षेत्रमा पनि वर्षा हुने उनले बताए।
माैसम महाशाखाले बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ ‘देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।’
महाशाखाकाे ट्विटर ह्यान्डल नेपाल वेदर फरकास्टमा बिहीबार बिहान भनिएकाे छ: शनिबारसम्म अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने, १-२ स्थानमा भारी वर्षासमेत हुने र उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यय हिमपात हुने सम्भावना छ। साथै नदीमा पानीको बहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडी भूभागमा पहिरोको समेत जोखिम।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, ५ नम्बर प्रदेशमा अहिले मौसम पूर्ण बदली (घाम नलागेको, पूरै आकाश बादलले ढोकेको) छ र केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ। वागमती, १ र २ नम्बर प्रदेशमा भने अहिले मौसम सामान्य बदली (अलि अलि घाम पनि देखिने) भएको छ।
मौसमविद् पौडेलका अनुसार मंगलबार अरब सागरमा विकास भएको निसर्ग चक्रवात हिजो (बुधबार) दिउँसोदेखि भारतका महाराष्ट्र राज्यका केही क्षेत्रका जमिनमा प्रवेश गरिसकेको छ।
माैसमविद् पाैडेलका अनुसार यसकाे प्रभावले बुधबार काठमाडौं उपत्यकामा फाट्टफुट्ट वर्ष भएको छ भने पोखरालगायत आसपासका क्षेत्रमा १२-१३ मिलिमिटर वर्षा भएको छ।
यसैगरी सुदूरपश्चिमका अन्य ठाउँमा पनि वर्षा भएको छ, जसको तथ्यांक अहिले बिहान ९ बजेतिर मात्र आइपुग्ने उनले बताए।
प्रतिक्रिया