काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताएकी छन्।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी गरेको नेपालको नक्सा सम्बन्धमा आयोजना गरेको बैठकमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई काखा र कसैलाई पाखाको व्यवहार नगरिने मन्त्री अर्यालले जानकारी दिइन्।
‘हाम्रा कुटनीतिक सम्बन्धहरू हाम्रा छिमेकीहरुसँग समदूरीको नै रहन्छ। कसैसँग काखाको कसैसँग पाखाको हुदैन’, मन्त्री अर्यालले भनिन्, ‘जो सीमासँग जोडिएका विषयहरु हुन्छन्। उत्तरदक्षिण दुवैतिरका सरकारले समान ढंगले नै हेर्छ।’
अत्यन्त पेचिलो बनेको सुस्ता र कालापानी क्षेत्र भएको भन्दै मन्त्री अर्यालले यी विषयहरू टुंगिएपछि अरु ठाउँका समस्याहरू पनि सरकारले समाधान गर्ने बताइन्।
मन्त्री अर्यालले भनिन्, ‘जमिन ल्याउने नक्सा जारी गर्ने कुरा ठूलो कुरा होइन भनेर भन्नु विगतको आफ्नो कमजोरी लुकाउनु नै हो। ठूलो होइन भने किन आयो? ठूलै भएर नै आएको होला नी!’
सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको भन्दै मन्त्री अर्यालले भारतसँग वार्ताद्वारा नै समस्याको समाधान गरिने बताइन्।
सबै तथ्य प्रमाणहरू नेपालको पक्षमा रहेको भन्दै उनले वार्तामा बसिरहँदा नेपालका विपक्षमा आउन सक्ने विषयहरूको नेगेटिभ लिस्ट बनाएर त्यसलाई काट्ने दस्ताबेजहरूको तयारी पनि गर्न आवश्यक रहेको बताइन्।
प्रतिक्रिया