+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्पको इपिसेन्टर गोरखाका ७६ प्रतिशत विद्यालय पुनर्निर्मित

4KNationalDaily
२०७७ असार २, मंगलवार ०९:४९ बजे

काठमाडौं– २०७२ सालमा आएको विनाशकारी भूकम्पको इपिसेन्टर गोरखा जिल्लामा पाँच वर्षयता ७६ प्रतिशत क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण सकिएको छ।

भूकम्पअघि जम्मा ४९० विद्यालय रहेकोमध्ये मर्ज भई ४१९ वटा रहेकोमा अहिलेसम्म ३२० वटा विद्यालयको पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको शिक्षा इकाइअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख विष्णुप्रसाद मिश्रले जानकारी दिए।

शिक्षा पत्रकार समूहले सोमबार आयोजना गरेको ‘गोरखामा विद्यालय पुनर्निर्माण’ विषयक भर्चुअल संवादमा यस्तो जानकारी दिइएको हो।

भर्चुअल संवादमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सिएलपियु) शिक्षाका आयोजना निर्देशक चुडामणि पौडेलले देशभर अहिलेसम्म ७५ प्रतिशत विद्यालयको पुनर्निर्माण गरिसकिएको र चालू आर्थिक वर्षमा ९५ प्रतिशत निर्माण सकिसक्ने कार्यक्रम रहेकोमा कोभिड–१९ ले प्रभावित बनाएको बताए।

उनले कोभिड–१९ को अवधिमा पनि मापदण्ड अपनाएर निर्माण कार्यक्रम अघि बढाइएको जानकारी दिए।

पौडेलले गोरखा जिल्लामा कामको प्रगति सन्तोषजनक भएको तर लक्ष्यअनुरुप पुनर्निर्माण हुन नसकेकाले आगामी वर्षमा सबै सम्पन्न गर्नेगरी रकम छुट्याइसकेको समेत बताए।

जिल्ला आयोजना कार्यान्वयन इकाईले विद्यालय व्यवस्थापन समिति, गैरसरकारी संघ–संस्था र एशियाली विकास बैंक (एडिबी), जाइका तथा दूतावासहरू मार्फत् पुनर्निर्माण गर्दै आएको बताएको छ।

निर्देशक पौडेलले विद्यालय बनाउन चारवटा मोडल अपनाइएको र त्यसमध्ये ७० प्रतिशत विद्यालय व्यवस्थापन समितिबाट पुनर्निर्माण गरिएको बताए।

२०७३/०७४ मा ९९ वटा विद्यालय बनाउने कार्यक्रम रहेकोमा ९४ वटा निर्माण सम्पन्न भइसकेको इकाईले जनाएको छ। सो आर्थिक वर्षको ५ वटा विद्यालय निर्माणधीन अवस्थामै छन्।

अपेक्षित संख्यामा विद्यालयको पुनर्निर्माण भएपनि गुणस्तरमा भने केही प्रश्न उठाइएका छन्।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले विद्यालयका भवनहरूको गुणस्तरमाथि केही प्रश्न उठेको बताए।

उनले एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बनाएको भवन भत्कन थालिसकेको जानकारी दिँदै केही विद्यालयहरूको ठेकेदारहरू समेत सम्पर्कमा नआएको सुनाए।

यस्तै, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले ‘लाइसेन्सबिनाका ठेकेदार’का रुपमा विद्यालयका प्रधानाध्यापकहरू खटिएकाले गुणस्तरमा प्रश्न उठ्ने गरेको औंल्याए।

उनले किस्ताबन्दीमा भन्दा पनि पूरा काम सम्पन्न हुनेगरी विद्यालयको पुनर्निर्माण हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily