काठमाडौं- प्रधानमन्त्रीले राष्ट्रपति र आफूलाई हटाउने षडयन्त्र भइरहेको बताएका छन्।
शनिबार साँझ बालुवाटारमा गरेको मन्त्रीहरुसँगको छलफलमा उनले राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउने प्रयास भइरहेको बताए।
छलफलमा उपस्थित एक मन्त्रीका अनुसार आफ्नै पार्टीका राष्ट्रपतिमाथि आफ्नै पार्टीका नेताहरुले षडयन्त्र गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।
प्रधानमन्त्रीले पार्टी एकताको निरन्तरतामा प्रशस्तै शंका व्यक्त गरेका थिए।
उनले एकै ठाउँमा रहने सम्भावना अब न्यून भइसकेको मन्त्रीहरुलाई बताएका थिए। उनले मन्त्रीहरुलाई कुन पक्षमा लाग्ने हो, स्पष्ट हुन आग्रह गरेका छन्।
‘पार्टी विभाजन होला जस्तो छ’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक मन्त्रीले भने, ‘तपाईंहरु कसको पक्षमा लाग्ने हो, स्पष्ट हुनुहोस्।’
उनले आफूविरुद्ध षडयन्त्र भएकोले आफूले बाइ फोर्स, बाइ स्टेप निर्णय लिनुपर्ने हुनसक्ने बताए। उनले एकदुई दिनमा आफूले फेरि बोलाउने मन्त्रीहरुलाई भनेका छन्।
‘पार्टी एकता संकटमा छ। अवस्था जटिल छ। यसलाई सुझबुझका साथ मूल्यांकन गर्नू। सानोसानो कुरालाई ध्यान दिनू,’ प्रधानमन्त्रीले भनेका थिए।
उनले पार्टी विभाजन भए त्यसको दोषी आफू नहुने पनि स्पष्ट पारेका छन्। ‘साथीहरुको गतिविधि तपाईंहरुले देखिरहनुभएको छ’, प्रचण्ड-नेपाल गठबन्धनतिर संकेत गर्दै उनले भने, ‘उहाँहरुको गतिविधिले पार्टीलाई विभाजनतिर लैजाँदै छ। म पार्टीलाई बचाउन अन्तिमसम्म कसरत गरिरहेको छु।’
स्थायी कमिटीको जारी बैठकमा आफ्नो राजीनामा मागिरहेको विषयलाई जोड्दै उनले त्यस्ता कुरालाई अस्वीकार गर्ने बताए। उनले आफूले दुवै पदबाट राजीनामा नदिने बताए।
प्रतिक्रिया