काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा कमजोर बनेको बार्सिलोनाका लागि भिल्लारियलमाथिको जितले केही राहत दिएको छ।
आइतबार राति भएको खेलमा घरेलु टोली भिल्लारियललाई बार्सिलोनाले ४-१ गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोनी ग्रिजम्यान र अंशु फातीले गोल गरे।
भिल्लारियलका पाउ टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोनाले एक गोल भने उपहारस्वरुप पाएको थियो। यता, भिल्लारियलका लागि भने जिरार्ड मोरेनोले गोल गरे।
खेलको तेस्रो मिनेटमा नै टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको १४औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई १-१ गोलको बराबरी दिलाए। तर यो बराबर िधेरै बेर टिक्न सकेन।
खेलको २०औं मिनेटमा स्वारेज र ४५औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि पहिलो हाफसम्म नै बार्सिलोनाले ३-१ गोलको अग्रता बनायो। खेलको ८६औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ४-१ गोलको जित दिलाए।
यो जितसँगै बार्सिलोनाले ३४ खेलबाट ७३ अंक बनायो। दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा रियल मड्रिड चार अंकले अघि छ। पराजित भिल्लारियल भने लिगको पाँचौ स्थानमा छ।
त्यस्तै, आइतबार राति नै भएका अन्य दुई खेलमा लेगानेसले स्पानियोललाई १–० गोलअन्तरले पराजित गर्दा गेटाफे र ओसासुनाले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
प्रतिक्रिया