काठमाडौँ- ओलीलाई भेट्नुअघि प्रचण्डले आइतबार बिहान वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँगै गएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए।
शीतल निवासमा प्रचण्डसहित तीनै जनाले राष्ट्रपतिलाई पार्टीभित्रको आन्तरिक समस्या पार्टीमै छलफल गरेर हल गरिने बताएका थिए।
राष्ट्रपतिलाई महाअभियोग लगाउने कुनै योजना नभएको भन्दै बालुवाटारले नचाहिँदो अफवाह फैलाएको स्पष्टीकरण उनीहरुले दिएका थिए।
त्यसलगत्तै बालुवाटार पुगेका प्रचण्डलाई ओलीले राष्ट्रपतिकहाँ ‘डेलिगेसन’ गएर आएको भन्दै कटाक्ष गरेका थिए।
‘डेलिकेसन गएर आइयो होइन त?’ बैठकको सुरुमै ओलीले प्रचण्डलाई व्यंग्य गरेका थिए, ‘ तपाईंहरु मैले राष्ट्रपति भेट्दा विरोध गर्नुहुन्छ तर अहिले आफैँ भेटेर आउनुभयो।’
‘तपाईंले राष्ट्रपतिका विरुद्ध नचाहिँदा कुरा गरेपछि प्रष्ट पार्न गएको हो,’ जवाफमा प्रचण्डले भनेका थिए, ‘डेलिगेसन जान आवश्यक नै छैन नि!’
असार १० गतेदेखि सुरु भएको स्थायी समिति बैठकमा ओलीको राजीनामा मागिएपछि नेकपा चरम संकटमा पुगेको छ।
प्रधानमन्त्री ओलीले स्थायी समितिको निर्णय मान्नुभन्दा पार्टी फुटाउने तयारी गरेको नेकपा नेताहरुको भनाइ छ।
प्रतिक्रिया