चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कोही राष्ट्रघाती दलाल र कोही महान् राष्ट्रवादी नभएको बताएका छन्।
चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रचण्डले पार्टीलाई एकताबद्ध राख्नुपर्ने बताए। ‘यहाँ कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी भन्ने होइन। हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो। सबै मिलेरै नक्सा बनाएको हो’, उनले भने।
उनले स्थायी कमिटीको एजेन्डामा सीमा समस्या रहेको र त्यहाँ आफूहरुले बोल्दा प्रधानमन्त्रीलाई धन्यवाद दिएको बताए।
‘केपी ओलीलाई धन्यवाद दिइएको छ। वैधानिक रुप दिन पार्टीले निर्णय गरेर मात्रै पुग्दैन। तपाईंले औपचारिकता दिनुभयो भनिएको थियो। त्यो के जिन्दावाद र मुर्दावादको कुरा हो? पार्टीभित्र जिन्दावाद र मुर्दावाद भन्ने कुरा हो त?’, उनले प्रश्न गरे।
उनले पार्टीको निर्देशनअनुसार नै नयाँ नक्सा प्रकाशित भएको बताए।
उनले आफूलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि गत मंसिर अन्तिममा बसेको पहिलो स्थायी कमिटीको बैठकमार्फत तुरुन्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा प्रकाशित गर्नैपर्छ भनेर सर्वसम्मत निर्णय गरेको बताए।
केन्द्रीय कमिटीबाट पनि त्यस्तै निर्णय गरेको उनले स्मरण गराए।
उनले पार्टीभित्रको समस्यामा अध्यक्षद्वयलाई उक्साउनेप्रति सावधान रहने र खबरदारी गर्नुपर्ने बताए।
‘हामी नेताहरु एउटाले गएर केपीलाई प्रचण्डलाई छोड्न हुन्न भनेर उक्साउने र अर्कोले आएर प्रचण्डलाई केपीलाई छोड्नुहुन्न भनेर उक्साउने प्रवृत्तिहरुप्रति सावधान रहने र खबरदारी गर्ने त्यहाँनेर हो’, उनले भने।
उनले पार्टी विभाजन हुन नदिइने प्रष्ट पारे। ‘पार्टीको एकतालाई अक्षुण्ण राखिने छ भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने।
उनले नेकपाको एकता सजिलै प्राप्त गरेको कुरा नभएको बताए। ‘एकतासम्म आउन हामीले धेरै ठूलो संघर्ष, मेहनत, बहस र बलिदान गरेका छौं’, उनले भने, ‘जनताको चाहना अनुसार, आम कार्यकर्ताको चाहना अनुसार, इतिहास र जनताको आवश्यकताको कारणले भएको एकता हो। हामीले यसमा गर्व गरेका छौं।’
प्रचण्डले एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन हुन नदिनका लागि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले निकै प्रयास गरेको बताए। त्यतिबेला पार्टी एकता नहोस् र सरकार पनि अन्य गठबन्धनको बनोस् भन्ने प्रयास भएको उनले बताए।
‘म आफैंलाई पाँच वर्षको निम्ति प्रधानमन्त्री निम्ति प्रयास दुई तीनवटा पार्टीले लिखित प्रतिबद्धता गर्छौं, तपाईं नेतृत्व गर्नुस् भनेर पार्टी एकताभन्दा अघि प्रयास भएका थिए’, उनले भने।
प्रतिक्रिया