काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर नेपाली भूमि डुवानमा परेको बताए ।
गृहमन्त्री थापाले पटकपटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको उनको भनाइ थियो ।
‘नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दाखेरि हाम्रोमा डुबान भयो’ उनले भने, ‘सीमामा समानान्तर रूपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुने गरेको छ । नेपालमा हस्तक्षेप नै हो त्यो।’
भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए । ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए ।
सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’ उनले भने ।
भारतका कारण नै दुई देशबीच डुबानलाई लिएर प्रभावकारी कार्यान्वयन र काम नभएको मन्त्री थापाको भनाइ थियो ।
‘नेपालमा डुबान हुनबाट बचाउनका निम्ती भारतले निकास दिनुपर्छ’, गृहमन्त्री थापाले भने ।
समितिको छलफलमा सांसदहरूले भारतले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नेपालको सीमामा सडक निर्माण गरेर बर्खाको पानी निकास हुन नदिएको बताएका थिए ।
उनीहरूले भारतले सीमामा निर्माण गरेका बाँधका कारण पनि नेपाल डुबानमा परेको बताएका थिए ।
समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउने कुराको पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया