+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीकाे कर्मचारीलाई आग्रह- घरदैलोमै पुगेर सेवा दिनुहोस्

4KNationalDaily
२०७५ भाद्र २२, शुक्रबार ११:५२ बजे

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसाैँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् ।

‘नतिजामुखी प्रशासन: समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उनले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको उल्लेख गरे ।

सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको बताएका छन् ।

;जननिर्वाचित संविधानसभाबाट संविधान निर्माण भई तीनवटै तहका निर्वाचन भइसकेको अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक संरचना पनि संस्थागत भइसकेको छ,’ १५औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘त्यसैअनुरुपको प्रशासनिक संरचनाको स्वरुप निर्धारण भइसकेको र यतिखेर प्रशासनिक संरचनालाई संस्थागत गर्ने विधि र प्रक्रिया पनि अघि बढिरहेको छ ।’

नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दह्रो राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवद्र्धनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहनेमा उनको जोड छ ।

‘निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने कर्मचारीतन्त्रले व्यक्तिगत स्वार्थभन्दा मुलुक र जनताको स्वार्थलाई महत्व दिने गर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘यस्तो निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्नेछौँ तसर्थ राष्ट्रसेवकको पहिलो अभिभारा राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहँदै एक्काइसौँ शताब्दीका नागरिकको अपेक्षाको सम्बोधन गर्न घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्नु नै हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily