+
Search

ताजा अपडेट +

पपुलर +

म नै राज्य हुँ भन्न थाले पतनको विकल्प छैन : माधव नेपाल

4KNationalDaily
२०७७ श्रावण ९, शुक्रबार १५:५८ बजे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा कहिल्यै नफुट्ने दावी गरेका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले कसैले चाहेर नेकपा नफुट्ने बताए।

‘चोइटिएर जाने जालान्, त्यसो हुँदैमा पार्टीलाई केही हुँदैन,’ उनले भने। नेकपा फुट्ला भनेर डराउनु जरुरी नभएको उल्लेख गर्दै उनले भने, ‘यो हामीले सिर्जना गरेको पार्टी हो, यसरी नै चल्छ।’

पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी निर्माण गरेको सम्झना गर्दै उनले कम्युनिष्ट आन्दोलन कसैले चाहेर विर्सजन नहुने बताए। कम्युनिष्ट पार्टीसँग जनताले आसा र अपेक्षा गरेको भन्दै उनले सरकारका गतिविधि त्यसतर्फ केन्द्रित छन् वा छैनन भनेर मनन गर्ने समय आएको बताए।

त्यही आशाका कारण नेकपालाई दुई तिहाई मत प्राप्त भएको उल्लेख गर्दै नेता नेपालले भने, ‘हामी त्यो पुरा गर्न लागिरहेका छौं कि छैनौं, जनताको प्रतिक्रिया के छन् त्यो हामी सुनिरहेका छौं कि छैनौं। सिगो जनताको भावना बुझ्न सकेका छौं कि छैनौं भनेर चिन्तन गनुपर्ने भएको छ । ’

नेकपामा कोही कसैको दास भएर बस्न नसक्ने उनले बताए। नेकपा सञ्चालन गर्न पहिलो पुस्ताले नसके दोस्रो र तेस्रो पुस्ता आउने उनले दावी गरे। ‘म नै राज्य हुँ भनेर केन्द्रमा राख्ने र अहंकारको भावनाबाट चल्न थाले त्यो व्यक्ति पतन हुनुबाहेक विकल्प छैन,’ नेपालले भने, ‘यदि कोही यस्तो विचारमा चल्छ भने बेलैमा सचेत हुने समय भएको छ।’

नयाँ पुस्तालाई जिम्मेवारी दिनेबारे पनि सोच्न जरुरी रहेको भन्दै उनले आफूसँगै सबैलाई समाप्त पार्ने मुखर्ता नगर्न आग्रह गरे। सबैमा यो चेत पलाउने भन्दै उनले सामूहिक भावना र निर्णयमा पार्टी चल्नुपर्ने बताए। कमी-कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने पनि उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily