काठमाडौं- वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन्।
किसानबाट प्रतिकिलो १५-२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।
बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् ।
केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए।
उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ । बाढीपहिरोले बाटो बन्द भएको छैन । पानी पर्नासाथ एक्कासि बजारमा तरकारीको मूल्य दोब्बर–तेब्बर भएको छ । यो बाढीको बहानामा बिचौलियाले खेलेको खेल हो।’
उनका अनुसार बिचौलियाले आलु प्रतिकिलो २० रुपैयाँमा ल्याएर उपभोक्तालाई ६० देखि ७० मा बिक्री गरिरहेका छन् । उपभोक्ताले प्रतिकिलो ८० देखि ९० रुपैयाँमा बोडी किन्छन् । तर, उनीहरूले किसानबाट प्रतिकिलो १५ रुपैयाँमा बढी खरिद गर्छन्।
बिचौलियाले १५ रुपैयाँमा किनिएको काँक्रो ६०–७० रुपैयाँमा बिक्री गरिरहेका छन् । वर्षा र बाढीको बहाना बनाएर हरियो तरकारीमा प्रतिकिलो ४० देखि ५० रुपैयाँ बढी मूल्य लिइएको महर्जनले बताए।
प्रतिक्रिया